आदर्श साधकको-सम्झना मनिराज जोशी

        मेरा नजिकका स्वभावैले मिल्ने सदाचारी मित्र गोपालदत्त भटृ नेपाल राष्ट्र बैंकमा कार्यरत रहेदेखि नै निकट सम्बन्ध रह्यो । उहाँबाट हुने काम छिटोछरितो र स्पष्ट एबं भरपर्दो हुन्थ्यो । पछिल्ला केही वर्षदेखि उहाँ ॐ शान्तिका साधक भएर शाकाहारी, योग, प्राणायाम, ब्रह्मचिन्तनमा खुलेर लाग्नु भयो । नोकरीबाट अवकाश हुनुभएपछि वहाँ सार्वजनिक धार्मिक कार्यक्रममा पनि लगनशील भएर लाग्नु हुन्थ्यो । उहाँलाई हामीले सत्यवक्ता, सबैसंग मित्रवत् व्यवहार गर्न सिपालु र शान्त सौम्य साधकको रूपमा चिनेका थियौं । 

        केही वर्ष एल.एन. चोकमा उहाँले कपडाको पसल पनि चलाउनु भएको थियो । हामी उहाँका समकक्षीहरूको भेटघाट र भलाकुसारी गर्ने थलो उहाँको पसल हुने गर्थ्यो बोली, भाषा, व्यवहार, विचार र खानपान समेत उहाँको साधककै थियो । उहाँको महाप्रयाणबाट हामी अति दुःखित  भएका छौं र एक असल मित्र र आदर्श साधक गुमाएका छौं । उहाँको शरीर विसर्जन भए पनि उहाँको उच्च विचार र उहाँको दिनचर्याबाट हामीले चरित्रवान, लगनशील, मेहनती, धार्मिक, आस्थावादी र असल गुण अंगिकार गर्न सक्दछौं । उहाँको दिव्यात्माले अव्यक्त निराकार तत्वमा लीन हुन सकोस्, हार्दिक  श्रद्धाञ्जली अर्पण गर्दछु

धनगढी, कैलाली 

वि.संं २०५२ सालमा काठमाडौंमा भएको नेराबैंकको तालीम कार्यक्रममा









 

भट्टजीको याद-दलबहादुर रावल

            मैले ओम शान्तिमा जाँदा पहिलो पटक भेट भएको व्यक्ति गोपालदत्त भट्ट हुन् । मैले उनलाई आफू पनि यस संस्थामा सामेल हुन आएको बताएपछि उहाँले मलाई संस्थाका विषयमा ज्ञान दिनुभएको थियो । त्यसपछि २५, ३० वर्ष उहाँसँगको संगत रह्यो ।

मेरो व्यक्तिगत विचारमा उहाँ एक सज्जन मानिस हुनुहुन्थ्यो । उहाँले सबै जनासँग समान व्यवहार गर्नुहुन्थ्यो । उहाँ र लामो समय एकसाथ राजस्थानमा रहेको ओम शान्तिको मुख्यालय माउन्ट आबुमा गएका थियौं । एकाध पटक मात्र हाम्रो साथ छुट्यो होला तर प्रायः हामी साथसाथै राजस्थान गएका थियौं । म उहाँको पसलमा पनि समयसमयमा जाने गर्दथेँ । त्यहाँ हामी विभिन्न विषयमा छलफल गरिरहन्थ्यौं । उहाँकी श्रीमती माउन्ट आबु गएका बेला म पनि उहाँहरू सँगै राजस्थान गएका थियौं । 

केही वर्ष पहिले राजस्थानबाट फर्कने बेला उहाँको झोला हरायो । बरेलीमा झोला राखेँ भन्ने सोच्नुभएको रहेछ, तर उहाँको झोला त्यहीँ छुटेको रहेछ । हामी पलिया पुगेपछि मात्र गाडीबाट झोला निकाल्ने बेलामा उहाँको झोला नपाएपछि हामीले उहाँको झोला नपाएको थाहा पायौं । गाडीमा खोज्दा पनि नपाएपछि बरेलीमा छुटेको निश्चित भयो । यो एक दुःखद घटना थियो । 

वि.सं. २०७७ मा उहाँको आकस्मिक निधन हुँदा म पनि उहाँको घर गएर श्रद्धाञ्जली लिएको थिएँ । मेरा पुरा मित्रको यादले मलाई सताइरहन्छ । म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

धनगढी, कैलाली  


गोपाल दाइको स्मृतिमा केही शब्द-महेन्द्र खनाल

    आज संसारमा कुनै पनि व्यक्ति यस्तो हुन्छन्, जो मृत्यु पश्चात पनि मानसपटल, स्मृतिमा जीवित रहिरहन्छन् । याद छोडेर गएका हुन्छन् । यो संसार छोडेर जानुपूर्वका कर्मले सधैँ सम्झना दिलाइरहन्छन् । जो मानिस चित्र (शरीर) बाट होइन, चरित्र (बोली व्यवहार) बाट समाजलाई उदाहरणीय जीवन प्रस्तुत गरेका हुन्छन्, त्यस्तै मानिस मध्ये एक मेरा÷हाम्रा प्यारा गोपाल भट्ट दाइ । उहाँले जहिले पनि मलाई भाइ साहब भन्ने गर्नुहुन्थ्यो । उहाँसँग पहिलो भेट २०५१ सालको फागुन महिनामा हालको प्रदेश सभा (तत्कालीन जिल्ला विकास समिति) अघि सिंह जनरल स्टोरको छेउमा अयोध्या÷ गंगा क्षेत्रीको घरमा भएको थियो । परिचय गर्ने क्रममा मैले सोधेँ, “कहाँबाट आउनुृ भयो ?” जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “म यहाँ हसनपुरमा बस्छु, नेपाल राष्ट्र बैंकमा काम गर्छु ।” आदि । पछि राजयोग हलमा लगाइएको चित्र प्रदर्शनी भयो । वार्तालापका क्रममा उहाँले भन्नुभयो, “यो चित्र कुम्भ मेलामा पहिला नै देखेको थिएँ । यसको बारेमा थाहा पाएको थिएँ । यो चित्र लगाएपछि यसको बारेमा छोटकरीमा भनिएको थियो ।”

वि.सं. २०५१ को फागुन÷चैत्रतिर हामी १०÷१२ जना परमात्मा मिलन कार्यक्रमको लागि मधुवन (जो ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय) तर्फ लाग्यौं । अहिले जस्तो यातायातको सुविधा प्रर्याप्त मात्रामा थिएन । हामी गोण्डा, दिल्ली हुँदै माउन्ट आबुतर्फ लाग्यौं । हामी मध्येमा गोपाल दाई सात्विक भोजन मन पराउने, तलेको–भुटेको भन्दा ताजा, सादा भोजन मन पराउने भएकोले उहाँले एक प्रेसर कुकर, एक स्टोप, एक सानो डेक्ची, थाल, कचौरा लिनुभयो । यसरी जाने क्रममा स्टेशनमा लामो समय रोक्ने ठाउँमा स्टोभ जलाएर भात, दाल, तरकारी पकाउने खाने र साथमा भएका साथीभाइलाई खुवाउने गर्नुहुन्थ्यो । यो एउटा पिकनिक जस्तै भयो । हामी मध्ये कसैवे तरकारी काटने, कसैले दाल चामल छान्ने काम गरियो । यसरी भोजन बनाउने काम फटाफट हुनथ्यो । खानपिन पछि ट्रेनमा गएर बस्थ्यौं । मुख्यालयमा पुगेपछि गाँसबासको व्यवस्था त्यहाँ हुने गथ्र्यो । मधुवनबाट फर्कँदा पनि जाने बेला जसरी भोजनको व्यवस्था हुन्थ्यो । धनगढी पुगेपछि नियमित जीवनको क्रमिकता प्रारम्भ हुन्थ्यो । बिहान ३.३० बजेबाट योग ध्यानको तयारी हुन्थ्यो । नियमित कक्षा सञ्चालन गरिन्थ्यो । यसरी सञ्चालन हुने कक्षामा उहाँ पहिले नै पुग्नुहुन्थ्यो । 

उहाँ कम बोल्ने, बढी काम गर्ने गर्नुहुन्थ्यो । कसैलाई पनि बोली र व्यवहारले बिझाउने काम गर्नुहुन्नथ्यो । उहाँले क्रोध गरेको मैले देखेको छैन । सधैँ गुणग्राही । उहाँले अरुका गुणलाई राम्ररी पहिचान गर्न सक्नुहुन्थ्यो । उहाँ कुनै कुराको पनि संग्रह गर्नुहुन्नथ्यो । २ जोर कपडा भए पुग्ने । २ रोटी, २ जोर कपडा मात्र भए पुग्यो । धेरै सञ्चित गर्नुहँुदैन नत्र भक्तिमा समयमा बुद्धि भौतिक पदार्थमा जान्छ भन्नुहुन्थ्यो । खानामा पनि चिल्लो, पिरो कम भएको खाना चाहिन्थ्यो । आफ्ना बालबच्चा (छोराछोरी)को गुणगान गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “मेरा बाबुहरू कुलतमा छैनन्, कहिँ बाहिरको खाना खाँदैनन्, फाल्तु खर्च गर्दैनन्, पढाइमा धेरै ध्यान दिन्छन् । जस्तो खाना दिए पनि खानामा दोष देख्दैनन्, प्यारले खान्छन् आदि । 

ओम शान्ति संस्थाको वृद्धि विकासको लागि उहाँको धेरै ठूलो योगदान छ । संस्थाको सेवामा कहिल्यै पनि नाइ भन्नु भएन । उहाँको मुखबाट हुन्छ भन्ने शब्द मात्र निस्किन्थ्यो । उहाँ तनको सेवा, मनको सेवा र धनको सेवामा सदैव अगाडि बढ्नुभयो । यसरी भन्नुपर्दा धनगढीको शाखा स्थापनाको आदि रत्न नै हुनुहुन्छ । उहाँभन्दा अग्रजमा खगेन्द्रमान श्रेष्ठ हुनुहुन्थ्यो । कुरा २०५२ सालतिरको हो, हामी चार भाई पहाडतिर जानको लागि तयार भयौं । गोपाल भट्ट, शिवलाल महतरा, ओमप्रकाश मल्ल अनि म । सबैभन्दा पहिले हामी डडेल्धुरामा पुग्यौं । डडेल्धुरामा अहिले जस्तो पक्की घरहरू थिएनन् । काठका घरहरू थिए । त्यहीँ बस स्टेशन अगाडिको होटलमा बस्यौं । पानीको अभाव भएको कारणले स्याउलेतिरबाट पानी ल्याएर खाना बनायौं । होटल वास भएपनि राष्ट्रिय वाणिज्य बैंकको पानी धारा प्रयोग गरेर स्नान, लुगाकपडा धुने काम भयो । दिनभर टुंडिखेल नजिकको शिव मन्दिरको प्राङ्गणमा आध्यात्मिक चित्र प्रदर्शनी गरियो । त्यसै दिन शेरबहादुर देउवा प्रथम पटक प्रधानमन्त्री भएपछि विमानबाट डडेल्धुरा आउनु भएको थियो । उहाँलाई भेटेर शिव मन्दिर भएर आउने कुराको चाँजोपाँजो गोपाल दाइले मिलाउनु भएको थियो । हामीले दिनभर त्यहाँ प्रदर्शनी ग¥यौं । एक दिन दुई रातको बसाइपछि पाटन, बैतडीतर्फ लाग्यौं । त्यहाँ बजारको मध्य भागमा आध्यात्मिक चित्र प्रदर्शनी ग¥यौं । चित्र प्रदर्शनी हेर्ने र सुन्ने मानिसहरूको घुइँचो थियो । दिनभरिको सेवापछि त्यहाँ रहेको कृषि विकास बैंकको गेष्ट हाउसमा बस्यौं । बिहान सिँचाई कार्यालयको पश्चिमतर्फ सल्लेरीमा पिकनिक जसरी भोजन बनायौं । त्यहीँ केही समय आराम गरेर साँझपख बैतडी, गोठलापानीतर्फ लाग्यौं । त्यहाँ पुग्ने बित्तिकै गोठलापानीमा चित्र प्रदर्शनी भयो । साँझ साहीलेक होटलमा बास बस्यौं । अर्को दिन त्यहीँ साइलेक स्कुलमा आध्यात्मिक, नैतिक मूल्य सम्बन्धित प्रवचन ग¥यौं । साँझपख उहाँको घर कुमालीमा बास बस्यौं । कुमालीमा पनि नजिकका मानिसहरू जम्मा गरेर शिव सन्देश दिन सक्षम भयौं । बैतडीको वास पश्चात छिमेकी देश भारतर्फ लाग्यौं । महाकाली पार झुलाघाट बजारमा २, ४ घण्टाको कार्यक्रम भयो । त्यसपछि हामी पिथौरागढ गयौं । त्यहाँ बिहानको भोजन पश्चात आध्यात्मिक चित्र प्रदर्शनी पश्चात शिव सन्देश दिने कार्य गरियो । पिथौरागढमा हाम्रो यस कार्यको माग धेरै भएपनि तत्काल समय कम भएका कारण त्यहाँबाट हिँडनुपर्ने भयो । पिथौरागढ भएर हामी सिधै महेन्द्रनगर, कञ्चनपुर (नेपाल) पुग्यौं । महेन्द्रनगरमा जलपान गरेर हामी एक सप्ताहको यात्रालाई विराम दिन घर (सेवास्थान) पुग्यौं । यसरी हाम्रो पहाडी भेगको भ्रमणसँगै भारतको पनि भ्रमण हुनपुग्यो । यसरी नै कैलाली जिल्लाको अत्तरियाको उत्तरतर्फ रहेको गोदावरी धाममा मकर संक्रान्ति (माघी) को अघि पौष मसान्तको रातभर गोदावरी नदी पारी रहेको मन्दिरमा माइकिङ गर्नु, आध्यात्मिक चित्र प्रदर्शनी गर्नु, राजयोग प्रवचन गर्ने काम भइरह्यो । हजारौं भक्तहरूले प्रदर्शनी एवं प्रवचनको लाभ लिनुहुन्थ्यो । हामी ५, ७ जनाको टिम भएर यी सबै काम सम्पन्न गर्दथ्यौं । देशमा संकटकाल लागु भएपछि हामीले यस किसिमका कार्य गर्न छोड्यौं । यी सब कार्यक्रममा गोपाल दाइको अग्रणी भूमिका रहन्थ्यो ।  

उहाँमा ईश्वरप्रतिको समर्पण भाव थियो । ईश्वरीय आदेशलाई आफ्नो जीवनमा धारण गरेर अरुलाई पनि प्रेरित गर्ने महान आत्माको अमूल्य योगदान छ । भगवानलाई त सबैले मान्छन् । महान उही हो, जसले भगवानले भनेको मान्छ, जीवनमा उतार्छ । ऊ नै भगवानको सच्चा बच्चा हो । लामो समयसम्म ईश्वरीय विद्यार्थी रहनु भयो गोपाल दाइ । ओम शान्ति स्थापनाको प्रारम्भकालमा सुदूरपश्चिमका पहाडी जिल्लामा ज्ञानको बिजारोपण गरी अनन्त पूण्य आर्जन गरी हामीबाट विदा लिनुभएको छ, हामी सबै ईश्वरीय परिवारबाट । उहाँप्रति सत सत नमन ।

(महेन्द्र खनाल ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, धनगढीका प्रमुख व्यक्तित्व मध्ये एक हुनुहुन्छ ।)


भट्ट सरको सम्झना-गगन ओली

        भट्ट सरसँग वि.सं. २०४० सालदेखिको परिचय हो । मैले लामो समय मालपोत कार्यालयमा काम गरेँ । नेपाल राष्ट्र बैंकमा राजश्व दाखिल गर्न जाँदा उहाँसँग चिनजान भएको हो । उहाँ एकदमै मिजासिलो स्वभावको हुनुुहन्थ्यो । 

“ओलीजी ! बस बस । अ‍ैल झाइबर क्या गद्दया हौ ।” भनेर उहाँ मलाई एकछिन बस्न भन्नुहुन्थ्यो । उहाँ मलाई काउन्टरभित्र बोलाउनुहुन्थ्यो । 

वि.स. २०५८ सालमा स्वैच्छिक अवकाश लिएर उहाँले धनगढीको एलएन चोकमा थान कपडाको पसल प्रारम्भ गर्नुभयो । म पसलमा जाँदा, “चाहिने जति कपडा लैजानुहोस् । पछि पैसा भएको बेला दिनुहोला ।” भनेर उहाँ उदारता प्रकट गर्नुहुन्थ्यो । 

      उहाँ पहिल्यैदेखि ओम शान्ति संस्थामा आबद्ध हुनुहुन्थ्यो । पछिल्ला समयमा म पनि त्यस संस्थासँग जोडिन पुगेँ । मलाई त्यस संस्थामा जोडनमा उहाँको पनि भूमिका रहेको छ । उहाँसँग म एक पटक बाबा मिलन कार्यक्रममा भारतको माउन्ट आबु, राजस्थानमा गएको छु । ओम शान्तिको आयोजनामा हुने गरेका पिकनिकमा पनि म उहाँको साथसाथमा रहेको छु । हामी पिकनिकको क्रममा सुखड, बेदकोट, घोडाघाडी सँगै गएका थियौं । यस बाहेक संस्थाको आयोजनामा हुने चित्रावलीमा जोखर तालमा सँगै प्रदर्शनीमा गएका थियौं । उहाँले चित्रको राम्ररी विश्लेषण गर्ने, बताउने काम गर्नुहुन्थ्यो । 

    भट्ट सरले ओम शान्ति संस्थाका लागि ठूलो योगदान दिनुभएको छ । उहाँले यस संस्थामा लामो समय काम गर्नुभयो । उहाँ जहाँ गएपनि, जस्तोसुकै अवस्थामा पनि प्रजापिता बाबालाई स्मरण गरेर, उहाँका विचारलाई आत्मसात गरेर हिँडनुहुन्थ्यो । उहाँ व्यक्तिगत रूपमा अत्यन्त मिलनसार, ज्ञान दिन सक्ने मानिस हुनुहन्थ्यो । उहाँको दाहसंस्कारका दिन धेरै पानी परेको थियो । हामी धेरै कठिनाइका साथ त्यहाँ गएर श्रद्धाञ्जली दिएका थियौं । एक असल मानिसका रूपमा हामी सदैव सम्झिरहने छौं भट्ट सर ।


स्मृति आलेखमा बुवा-डा.पुष्करराज भट्ट


बुवाले हामीलाई यति छिटो छोडेर जानुहोला भनेर हामी परिवारका कसैले पनि कल्पना गरेका थिएनौं । मेरा बुवा गोपालदत्त भट्टले असोज ८ गते अचानक  हामीलाई छोडेर मृत्युवरण गर्नुभयो । वि.स. २०७७ साउन ७  गतेका दिन हामी बुवासँगैँ थियौं । दिउँसोको २ बजेतिर हुनुपर्छ, बुवाआमासँगै बहिनी पनि पसलमै थिइन् । त्यो दिन सुदूर पश्चिम क्षेत्रकी प्रसिद्ध साहित्यकार श्रेष्ठ प्रिया पत्थरको जन्मदिवसको अवसरमा उहाँको घरमा हुने कार्यक्रममा मलाई बोलाइएको थियो । मैले जन्मदिनको उपहार त्यहीँ पसलमा तयार गरेर लगेको थिएँ । त्यसबेला बुवासँग मेरो कुराकानी पनि भएको थियो । साँझ पाँच बजेतिर म घर फर्केँ र त्यसपछि लेखपढमा लागेँ । रातको ११.३० मा बहिनीले बोलाएपछि म बुवा बरन्डामा पल्टिराखेको देखेँ । आमाले बुवाको जीउ चिसो भएकोले जिउमा हातले मालिस गर्नुभयो । अहँ, कुनै परिवर्तन आएन । घरपरिवारका सदस्य सब डरायौँ । पल्लो घरबाट हजुरबा तोयराज भट्टलाई बोलायौँ । उहाँसँगै हामीले बुवालाई घर नजिकैको निसर्ग अस्पताल लग्यौँ । त्यहाँ अवस्था जटिल भएको र आफूकहाँ आइसियू नभएकोले तुरन्त आइसियू भएको अस्पतालमा लग्न भनियो । हामी त्यहाँ पुग्दा रातको बाह्र बजेको थियो ।

बुवाको अवस्था बिग्रन थालेपछिपरिवारका केही मानिस अस्पतालमा रहने र अरुले अन्य अस्पतालमा गएर आइसियूको खोजी गर्ने  सल्लाह भयो । धनगढीका सारा अस्पताल चाहर्दा पनि आइसियू नभएको कुरा थाहा भयो । बल्लबल्ल सारथी अस्पतालमा ठाउँ पाइयो । त्यहाँ पनि पाँच मिनट अघि एकजना बिमारीलाई आइसियूमा भर्ना गरिएको रहेछ । केही समयपछि ठाउँ खालि भएपछि बुवालाई आइसियूमा राखियो । बिहानपख आफन्त, साथीभाइ एवम् ब्रह्मकुमारी संस्थाका मानिस बुवालाई हेर्न आउनुभयो । विगतमा सुगर, प्रेसर सम्बन्धि रोग लागेर बिमार रहेपनि खाना र जीवनशैलीमा अत्यन्त सतर्क रहने बुवा कोरोनाको प्रभाव देखिएपछि केही निराश देखिनुहुन्थ्यो । यसै अवधिमा मेरी श्रीमतीको बिरामीका कारण असारमा म काठमाडौंबाट घर आएदेखि उहाँलाई झन चिन्ताले सताएको थियो । आइसियूमा राखेर पनि कुनै सुधार नदेखिएकोमा बेहोसीको अवस्थामै उहाँले यही साउन आठ गते यो संसार छोडेर जानुभयो ।

कुनै पनि सन्तानका लागि आफ्ना आमाबाबुको स्थान सबैभन्दा उच्च हुन्छ । मलाई पनि लाग्छ, हाम्रो परिवारमा बुवाको स्थान सबैभन्दा माथि थियो । बैतडी जिल्लाको एक सामान्य परिवारमा बुवाको जन्म भएको हो । सानैमा हजुरबाको मृत्यु भएपछि उहाँको आफ्नो परिश्रम एवम् मेहनतले भारतको पिथौरागढबाट हाइस्कुलको अध्ययन गर्नु भएको थियो । आफ्नो अध्ययन पश्चात उहाँले केही समय शिक्षण सेवामा काम गरेपनि पछि नेपाल राष्ट्र बैंकमा जागीर गर्नुभयो । यस क्रममा उहाँको जिम्मामा आमा र चार जना भाइबहिनीको पनि जिम्मेवारी रह्यो । उहाँले आफूले जागीर गर्दै आफ्ना भाइबहिनीलाई पढाउने र उनीहरुको विवाह गराउनाका साथै भाइहरुलाई रोजगार लगाउनमा पनि भूमिका खेल्नुभयो ।

मेरो जन्म भएको बेला बुवा घरमा हुनुहुन्थेन । उहाँ जागीरको क्रममा धनगढीमा हुनुहुन्थ्यो पछि न्वारनको बेला घर पुग्नुभएको कुरा आमाले मलाई बताउनु भएको थियो । बुवाको जागीर धनगढीमा, हामी बैतडीमै थियौं । म पछि मेरी बहिनीको पनि जन्म भयो । बुवा बिचबिचमा घर आउने जाने गर्नुहुन्थ्यो । वि.स. २०३९ सालमा आमा, म र बहिनी आफन्तसँगै धनगढी आयौं र त्यसपछि हामी बुवासँगै बस्न थाल्यौं । यस बेला धनगढी, महेन्द्रनगर आउन भारतको बाटो भएर आउनु पर्दथ्यो । हामी पनि बैतडीबाट पैदल हिँडेर भारतको झुलाघाट पुग्यौं । त्यहाँबाट हामी बस चढेर भारतकै बनबासा भएर महेन्द्रनगर र त्यहाँबाट धनगढी पुगेका थियौं । धनगढीमा केही महिना हामी डेरामा बस्यौँ पछि वि.स. २०४० भाइको जन्म भयो । वि.स. २०४१ सालमा धनगढी, हसनपुरमा हाम्रो घर बनेपछि आफ्नै घरमा बस्यौं ।

बुवाको स्वास्थ्य कमजोर थियो । उहाँ समयसमयमा माटोको पट्टी लाउने, निराहार बस्ने गर्नुहुन्थ्यो । उहाँको स्वास्थ्य कमजोर भएको कारण समयसमयममा अस्पताल गइरहनुपथ्र्यो । मलाई सम्झना छ, वि.स. २०४४–२०४५ तिर हुनुपर्छ, बुवा स्वास्थ्य उपचारका लागि भारतको गोरखपुर जानुभयो । यस अवधिमा फोनको कुनै सुविधा थिएन । बुवा उपचारका लागि गएपछि हामीसँग कुनै सम्पर्क भएन । उहाँ नभएका बेला उहाँको तलब दिन बैंकका कार्यालय प्रमुखले मानेनन् पछि बैंककै कतिपय कर्मचारीले सम्झाएपछि तलब पाइयो । यस अवस्थामा हाम्रो परिवारले निकै कष्ट भोग्नुपरेको थियो । बुवासँगको सम्पर्कका अभावका कारणले हामी चिन्तित थियौं । यसै क्रममा उहाँको चिठी आयो । सो चिठीमा उपचारका लागि खर्च पठाइदिन भनिएको थियो जसोतसो खोजखाज गरेर उहाँलाई खर्च एकजना आफन्तलाई दिएर पठाइयो ।  छ महिना पछि उहाँ निको भएर घर आउनु भयो ।

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई घरजग्गा किन्न ऋण सापटी दिने गर्दछ । बैंकले यसरी दिएको सापटी हरेक महिनाको तलबमा काटने र सो दिइएको रकम असुल भइसकेपछि पुरा तलब दिने गर्दछ । बुवाले पनि यसरी नै ऋण लिनुभएको थियो । यसले गर्दा हरेक महिनाको खर्च चलाउन सहज थिएन । यसो भएता पनि बुवाले हाम्रा आवश्यकता पुरा गर्दै जानुभयो । पछि बैंकबाट लिएको ऋण पनि चुक्ता हुनु र बैंकले आफ्ना कर्मचारीको तलब अन्य ठाउँभन्दा राम्रो दिने गरेपछि हाम्रो अवस्था सबल बन्दै गयो । उहाँले घरबाट कुनै पुख्र्यौली सम्पति नलिएको र आफ्नै बलमा धनगढीमा जग्गाजमिन जोड्नु भयो । बुवाले सानै उमेरमा जागीर खाएर पैंतिस वर्ष नेपाल राष्ट्र बैंकमा सेवा गर्नुभयो । सहायक स्तरको जागीरबाट प्रारम्भ भएको उहाँको जागीरे जीवन सहायक लेखा अधिकृतमा वि.स. २०५८ मा स्वेच्छिक अवकाश लिएपछि समापन भयो । जागीर अवधि अझै पाँच वर्ष भएपनि बैंकभित्रको अति राजनीतिकरण, आफ्नो कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँले पाँच वर्ष अघि नै स्वेच्छिक अवकाश लिनुभयो । जागीर पछिको दश वर्ष वि.स. २०५८–२०६८) मा उहाँले कपडाको व्यापार गराउनु भयो र हामी भाइबहिनीलाई पनि त्यसमा लगाउनु भयो । यस बिचमा पढाइका कारण भाइ र म कारोबारमा केही वर्ष मात्र सहभागी भयौं । भाई वि.स.२०६२ मा र मैले वि.स. २०६५ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गयौं । यस बिचमा विदामा घर आएका बेला पसलमा सहयोग गरेपनि अन्य बेला हामी काठमाडौं त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा हुन्थ्यौं । बुवाले वि.स. २०६८ सम्म धनगढी बजारमा कपडाको व्यापार गर्नुभयो त्यसपछिका दिनमा पनि घर भएकै ठाउँमा तीन सटरको निमार्ण गर्नुभयो  । त्यसमा केही भाडामा र केही आफ्ै किराना व्यापार प्रारम्भ गरियो । यो व्यापार मूल रुपमा बहिनीले सम्हाले पनि बुवाआमाको पनि साथ रहिरह्यो ।

मेरो बुवाले आफ्नो जीवनको सत्राइस वर्ष प्रजापिता ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) धार्मिक संस्थामा सक्रिय भएर लाग्नुभयो । दैनिक बिहानको स्नान र त्यसपछि ओम शान्तिमा जानु उहाँको नियमित दिनचर्चा बन्यो । उहाँ आफ्नो अटुट निष्ठाका साथ त्यस संस्थामा लागिरहनु भयो । उहाँले घरपरिवारका सदस्यलाई पनि त्यस संस्थामा लगाउन प्रयत्न गर्नुभएको थियो । यसै क्रममा मेरो परिवारका मेरी आमा, भाई र बहिनी पनि ओम शान्तिको मुख्य कार्यालय राजस्थान (भारत) मा भएको कार्यक्रममा सहभागी भएका थिए तर बुवा बाहेक परिवारको अन्य कुनै सदस्य ओम शान्तिमा सक्रिय भएनन् । म एक पटक बुवाआमाको सम्मानमा र एकदुई पटक सार्वजनिक कार्यक्रम हुँदा  सो संस्थाको धनगढी क्षेत्रीय आश्रममा पुगेको छु ।

मेरो बुवाले आफ्नो जीवनका पाँच दशकभन्दा बढी समय आफ्नो जागीरे जीवन त्यसपछि व्यापार एवम् आध्यात्मिक क्षेत्रमा बिताउनु भयो । उहाँले जुनजुन क्षेत्रमा लाग्नुभयो, त्यसमा पूर्ण आस्थावान भएर लाग्नुभयो । जुन ठाउँमा, जुन काममा लागेको छ, त्यसप्रतिको पूर्ण निष्ठा उहाँको जीवनको सबैभन्दा ठूलो पुँजी हो । एक सामान्य परिवारमा जन्मेर आमा एवम् भाइबहिनीको जीवन अनि पछिल्ला दिनमा श्रीमती एवम् पारिवारिक जीवनको उत्तरदायित्व उहाँले वहन गर्नुभयो । त्यो अहिलेका पुस्ताका लागि असम्भवजस्तै हो ।

मैले आफ्नो जीवनको अधिकांश समय राजनीतिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा बिताएँ । किशोर उमेरमा अनेरास्ववियुमा संगठित हुने क्रमसँगै नेकपा (माले), नेकपा (एमाले) हुँदै हालको नेकपा (नेकपा) मा रहेर कार्य गरेँ । त्यसका साथै सामाजिक संघसंस्था एवम् साहित्यिक क्षेत्रमा सक्रियता जारी नै रह्यो । पन्ध्र–सोह्र वर्षको उमेरदेखि नै राजनीतिकm, सामाजिक कार्यमा बढी व्यस्त भएका कारण मेरो पढाइ अनियमित बन्यो । मेरो जीवनको एक दशक भन्दा धेरै समय शैक्षिक हिसाबले असफल बन्यो जसका कारण आजसम्म पनि मार परेको छ । पछिल्ला दुई दशक यताको साहित्यिक–सांस्कृतिक गतिविधि एवम् उच्च शिक्षामा जे जति प्रगति गर्न सकेको छु, त्यति नै मेरो पूँजी हो । मेरो जीवन आँधीबेरी जस्तै रह्यो, जीवनका असहज परिस्थितिमा म कमजोर हुनपुग्दा बुवाले सँधै मलाई प्रेरणा दिनुभयो । यसमा घरपरिवारको साथसहयोग पनि कायमै रह्यो । मेरो पढाइ अस्तव्यस्त भएर शायद म पढाइ छोडेर एक आवारा जीवन बिताउन पुग्थेँ होला, बुवाको एक किसिमको त्रास अर्कोतिर प्रेरणाकै कारण म विद्यावारिधि गर्न सफल भएँ, साहित्यिक क्षेत्रमा निरन्तरता दिन सकेँ । सामाजिक जीवनमा स्थानिय स्तरमा काम गर्दा परपीडक चरित्रका मानिसहरूका कारण म मानसिक रुपमा अशान्त भएको बेला बुवाले जुन उत्साह दिनुभयो, त्यसले मलाई बलियो बनायो । एक अवकाशप्राप्त जागीरेले छोराछोरीको भविष्य राम्रो होस् भनेर कपडाको व्यापार प्रारम्भ गरेर हामीलाई पनि काममा लगाउन खोज्नुभयो तर हामीलाई त्यसैमा सिमित रहन दिनुभएन । आफू एक्लै व्यापार गरेर पनि हामी दुवै भाईलाई जसरी उच्च शिक्षा हासिल गर्ने तहमा पु¥याउनुभयो, बहिनीलाई व्यापारमा संलग्न गराएर आत्मनिर्भर बनाउन लगाउनु भयो, यसले हाम्रो जीवनलाई नयाँ उज्यालो दिएको छ । जीवनजगतलाई हेर्ने दृष्किोणका सवालमा म बुवाभन्दा पृथक लाइनमा रहेपनि बुवाले सँधै मेरो प्रगति चाहनु भयो । वैचारिक भिन्नताका कारण कतिपय सवालमा फरक सोच रह्यो । उहाँले सँधै मलाई जीवनमा अघि बढ्न् साहस दिनुभयो । मलाई सम्झना छ, मैले विद्यावारिधि पुरा गरेको दिन बुवा धेरै खुशी हुुनुभएको थियो ।

आज बुवाको अनुपस्थितिमा उहाँको धेरै याद आइरहेको छ । उहाँको बारेका कलम चलाउँदा हाथ थर्थराइरहेको छ । आफ्नो जीवनमा सत्य, न्याय र निष्ठाका लागि जीवन बिताउनु भएको बुवाको आज धेरै सम्झना आइरहेको छ । बुवा चाकडीचाप्लुसीमा लागेको भए जागीर उहाँको प्रमोशन पनि हुन्थ्यो होला, पैसाको पछि लागेका भए उहाँ धेरै धनसम्पति कमाउन सक्नुहुन्थ्यो होला तर उहाँ सदैव आफ्नो कर्मप्रति, सत्यप्रति निष्ठावान हुनुभयो । उहाँले हामीलाई असल बन्न प्रेरणा दिनुभयो । धेरै सोझो हुनाका कारण उहाँले आफ्नो अनि हाम्रो जीवनलाई उचित व्यवस्थापन गर्ने सवालमा केही पछि रहनुभयो तर उहाँ आफ्नो आदर्शमा बाँचरहनु भयो । आफ्नो जीवनकालभर आफ्नो जीवनलाई सत्कर्ममा लगाउनु हुने र परिवारलाई असल मार्गमा लागेको देख्न चाहनुहुने मेरा बुवा हामी परिवारजनका निमित्त आदर्श पात्र हुनुहुन्थ्यो । हामीले बुवाले सोचेजस्तो, चाहेजस्तो प्रगति गर्न नसकेपनि जीवनमा न्याय र सत्यको बाटो छोडेका छैनौँ । हामीले जीवनभर उहाँलाई केही दिन सकेनौँ, उहाँले निर्माण गरेको सम्पतिमा र उहाँको प्रतिष्ठामा नै बाँचिरह्यौँ । बुवा जीवित नभएपनि उहाँको जीवनको सत्य निष्ठा हामीसँगै छ । हामी जीवनभर सत्य निष्ठा बाँचेर बुवालाई सम्झिरहने छौं । यही नै हामी परिवारजनको तर्फबाट उहाँलाई श्रृद्धाञ्जली छ । 

धनगढी, कैलाली 



 


 

  

 





गोपालदत्त भट्टको निधनपश्चात सामाजिक सञ्जालमा व्यक्त समवेदना सन्देश

भट्टजीको सम्झनामा-डा. कर्णबहादुर बोकटी

गोपालदत्त भट्टजी सँगको मेरो पहिलो भेट भएको तीसको दशक यतादेखिको हो । हेर्दाहेर्दै लामो समय बितिसकेछ । वि.सं. २०५१ सालदेखि उहाँ ब्रह्मकुमारी संस्थामा आबद्ध हुनुभयो । उहाँको व्यक्तित्व प्रभावकारी थियो । उहाँ एकदमै मृदुभाषी, शालीन हुनुहुन्थ्यो । उहाँको जीवनस्तर सामान्य जनता सरह थियो । आफ्ना साथीहरूप्रति उहाँ निकै प्रेम गर्नुहुन्थ्यो । म उहाँसँगको पहिलो भेटबाट प्रभावित भएको मानिस हुँ । 

भट्टजी सँग म ५, ६ पटक माउन्ट बाबु (ब्रहम्कुमारी) को मुख्यालय गएको छु । सन् १९९६ मा हामी पहिलो पटक सँगै माउन्ट आबु गएका थियौं । त्यो यात्रा स्मरणीय थियो, आत्मीय थियो । यात्रामा गएका सबै सहभागीका बिचमा आपसी प्रेम एवं विश्वास थियो । यस यात्रामा हामीले ट्र्ेनबाट यात्रा गरेका थियौं । रेलवे स्टेशनमा हामीले स्टोभ बालेर खाना पकाएर खाएका थियौं । यो टोलीमा हामी २०–२५ जना थियौं । हामी सबैले भाँडाकुँडा समेत बोकेका थियौं । हाम्रो बेलुकाको बास उदयपुरमा धर्मशालामा भएको थियो । त्यसपछि हामी माउन्ट आबु (राजस्थान, भारत) पुगेका थियौं । माउन्ट आबुमा हलमा ठाउँ नपुगेर हामीले पाल लगाएर बसेका थियौं । अर्को पटकको यात्रा पनि रेलबाट भएको थियो । साँझ हामी बरेलीमा रहेको सैनिक धर्मशालामा बसेका थियौं । 

ब्रहमकुमारीको धनगढीमा रहेको कार्यालयमा बिहान आउँदा जाँदा हाम्रो भेट भइरहन्थ्यो । पहिला हसनुपरमा रहेको केन्द्रमा भेट हुन्थ्यो भने पछिल्ला दिनमा बसपार्कमा रहेको कार्यालयमा भेट हुन्थ्यो । उहाँले आफ्नो जन्मस्थल बैतडीका साथसाथै भारतको पिथौरागढमा समेत ओम शान्ति आश्रम खोल्ने काममा पहलकदमी लिनुभयो । यस काममा गोपालजी सँग महेन्द खनाल, शिवलाल महतरा पनि जानुहुन्थ्यो । धनगढीमा ओम शान्ति संस्थाको स्थापना वि.सं. २०४८ बाट भएको हो । प्रारम्भमा यस संस्थामा रघुनाथ पाठक, भक्तबहादुर चन्दका साथै बागेश्वरी श्रेष्ठ लगायतका मानिसहरू सामेल हुनुभएको थियो भने त्यसपछि गोपालजी पनि जोडिनुभयो । उहाँ यस धार्मिक संस्थामा प्रारम्भकालीन सदस्य मध्ये एक मानिनुहुन्छ । उहाँ जुन दिनदेखि यस संस्थामा लाग्नुभयो, निरन्तर लागिरहनु भयो । यस हिसाबले उहाँ निष्ठावान एवं प्रतिबद्ध व्यक्ति हुनुहुन्थ्यो । 

गोपालजी ईश्वर सरहका व्यक्ति हुनुुहुन्थ्यो । आफ्नो विचारप्रति उहाँ मृत्यु हुँदा सम्म पनि प्रतिबद्ध रहनुभयो । उहाँ सत्यको मार्गमा सदैव हिँड्नुभयो । उहाँ अरुप्रति सद्भाव राख्नुहुन्थ्यो । अरुको दुःखमा उहाँले सदैव साथ दिनुहुन्थ्यो । उहाँको सम्झनाले मन पोलिरहन्छ । एक असल मित्रको सम्झना गर्नु बाहेक अब हामीसँग कुनै विकल्प छैन । 

 (डा. कर्णबहादुर बोकटी ओम शान्तिमा लामो समयदेखि आबद्ध हुनुहुन्थ्यो । उहाँले क्षेत्रीय पशुसेवा निर्देशनालय, डोटीको क्षेत्रीय प्रमुख भएर कार्य गरिसक्नुभएको छ ।)

 

स्मृति पुष्प-लक्ष्मीराज जोशी

    वि.सं. २०४८ सालतिर हुनुपर्छ, मैले नेपाल राष्ट्र बैंकमा गोपालदत्त भट्टसँग भेट भएको थियो । मेरो बैंकमा काम पर्दा त्यहाँ गइरहन्थेँ । म लामो समय धनगढी नगरपालिकामा कार्यरत रहेँ । उहाँले जागीरे जीवनबाट अवकाश पाएपछि कपडाको व्यवसाय प्रारम्भ गर्नुभयो । कपडा किन्ने सिलसिलामा वि.सं. २०७१ देखि नियमित भेटघाट हुनथाल्यो । पछिल्लो समयमा म पनि ओम शान्तिमा आबद्ध भएकोले बिहान सधैँ भेट हुन्थ्यो । ओम शान्ति संस्थाले गर्ने कार्यक्रममा सँगसँगै हुन्थ्यौं । उमेरका हिसाबले पनि नजिक नजिक भएकोले उहाँसँग मेरो कुरा मिल्दथ्यो ।

कैलालीको सन्दर्भमा भन्ने हो भने उहाँ ओम शान्ति संस्थाको संस्थापक हो । जतिबेला ओम शान्ति संस्था धनगढीमा प्रारम्भ भएको बेला थियो, त्यति बेला स्थानिय समयमा यस संस्थामा कम मानिस मात्र जोडिएका थिए । उहाँले पचासको दशकको प्रारम्भभन्दा अघिदेखि यस संस्थामा जोडिएर संस्थालाई बलियो बनाउने काममा निरन्तर लागिरहनु भयो । उहाँको निरन्तरताको बलमा आज संस्था दिगो हुन सकेको छ । धनगढीको बाल उद्यानलाई ओम शान्तिले सञ्चालनको जिम्मा लिएपछि यस पार्कमा हुने कार्यक्रममा दिव्य प्रवचन सुनाउने, सम्झाउने काममा उहाँको अग्रसरता रहन्थ्यो । 

उहाँ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) को सच्चा समर्थक हुनुहुन्थ्यो । संस्थाका प्रायः सबै कार्यक्रममा उहाँको सहभागिता रहन्थ्यो । सकारात्मक सोच राख्नु, सकारात्मक जीवन बाँच्नु र अरुलाई पनि त्यसै अनुरुप लगाउन खोज्नु उहाँको असल गुण थियो । मेरो बुझाइमा उहाँ कमीकमजोरीरहित सच्चा मानव हुनुुहन्थ्यो । एक पटक म ओम शान्ति भवन, धनगढीमा आकस्मिक बिमारी हुँदा उहाँले जेजसरी मेरो सेवा गर्नुभयो, त्यसबाट म अत्यन्त प्रभावित भएको थिएँ । यस घटनाले उहाँप्रति मेरो श्रृद्धा अझ बढेर गयो । 

उहाँको सच्चा मूल्याङ्कन गर्नु कठिन छ । समग्रमा उहाँ एक महामानव हो । सामूहिक काममा अग्रसर हुने, आफ्नो जिम्माको काममा निरन्तर लागिरहने बानीका कारण उहाँ सबैको प्रिय बन्नुभएको थियो । वचन र कर्मबिचको संगतिका कारण उहाँ दोषरहित जीवन बाँच्नुभयो । यस्ता असल गुणले युक्त मेरा मित्रसँगको बिछोडले मलाई अत्यन्त पीडाको अनुभूति भएको छ । उहाँ आफ्ना असल गुणका कारण हामी सबैका बिचमा प्रिय हुनुन्थ्यो । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । 


स्व. गोपालदत्त भट्टको स्मृतिमा-केदारप्रसाद आचार्य

            मैले धनगढीमा पसल गरेदेखि नेपाल राष्ट्र बैंकमा नोट साटन वर्षमा १, २ पटक जानुपर्दथ्यो । त्यही क्रममा मेरो गोपालदत्त भट्टज्यूसँग राम्ररी चिनजान भयो । त्यतिखेर म एलएन चोकमा रेडिमेड कपडाको पसल चलाउँथे । त्यसको लामो समयपछि उहाँले जागीरबाट अवकाश लिनुभयो । त्यसपछि उहाँले कपडाको पसल प्रारम्भ गर्नुभयो । यस बिचमा कुनै न कुनै मौकामा उहाँको पसलमा गइरन्थेँ । बाटोघाटोमा भेटघाट हुँदा पनि अभिवादनको आदानप्रदान हुन्थ्यो । म वर्षमा एकाध पटक कपडा किन्न पनि त्यही पसलमा जाने गर्दथेँ । 

उहाँका जेठा छोरा डा. पुष्करराज भट्ट साहित्यकार भएकोले उहाँको संगतले पनि मलाई भट्ट परिवारसँग नजिक हुने मौका मिल्यो । यसै घनिष्टताका कारण पसलमा आनेजाने काम हुन्थ्यो । उहाँको घरमा हामीले साहित्यिक संस्थाको बैठक समेत बस्ने गरेका थियौं । यसरी उहाँको घरमा जाने क्रममा घरपरिवारका अन्य सदस्यसँग पनि भेटघाट हुने गर्दथ्यो । उहाँ अन्त्यन्त, मिलनसार भएकोले घरमा हुने साहित्यिक बैठकमा स्याय, फलफूल आदि हामीलाई दिनुहुन्थ्यो । यो उहाँको आत्मीयता थियो ।

उहाँ मिलनसार भएकोले पसलमा मानिसको आवातजावत भइरहन्थ्यो । उहाँ कहिल्यै रिसाउनु हुन्नथ्यो । उहाँ ओम शान्ति संस्थामा आबद्ध भएकोले निरन्तर त्यो संस्थामा आउनेजाने काम भइरहन्थ्यो । यसै क्रममा उहाँ भारतको राजस्थान प्रान्तको माउन्ट आबुमा रहेको मूख्य कार्यालयमा हरेक हुने धार्मिक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उहाँलाई त्यस संस्थामा सम्मानको हिसाबले हेरिन्थ्यो । उहाँको सद्विचार, सद्व्यवहार सुदूरपश्चिमको तराई मात्र नभएर पहाडी जिल्ला एवं नेपालभारतका विभिन्न ठाउँमा प्रभाव परेको थियो । उहाँको निधन हुँदा म बिरामी अवस्थामा थिएँ । त्यसैले मलामी जान र वार्षिक कार्यक्रममा समेत जान पाएन् । यस कुराले मलाई अत्यन्त दुखी बनाएको छ । अन्त्यमा, उहाँको असल जीवनबाट नयाँ पुस्ताले प्रेरणा लिने नै छ । उहाँको सम्झना सदैव रहिरहने छ ।

धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोल 


श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...