आज संसारमा कुनै पनि व्यक्ति यस्तो हुन्छन्, जो मृत्यु पश्चात पनि मानसपटल, स्मृतिमा जीवित रहिरहन्छन् । याद छोडेर गएका हुन्छन् । यो संसार छोडेर जानुपूर्वका कर्मले सधैँ सम्झना दिलाइरहन्छन् । जो मानिस चित्र (शरीर) बाट होइन, चरित्र (बोली व्यवहार) बाट समाजलाई उदाहरणीय जीवन प्रस्तुत गरेका हुन्छन्, त्यस्तै मानिस मध्ये एक मेरा÷हाम्रा प्यारा गोपाल भट्ट दाइ । उहाँले जहिले पनि मलाई भाइ साहब भन्ने गर्नुहुन्थ्यो । उहाँसँग पहिलो भेट २०५१ सालको फागुन महिनामा हालको प्रदेश सभा (तत्कालीन जिल्ला विकास समिति) अघि सिंह जनरल स्टोरको छेउमा अयोध्या÷ गंगा क्षेत्रीको घरमा भएको थियो । परिचय गर्ने क्रममा मैले सोधेँ, “कहाँबाट आउनुृ भयो ?” जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “म यहाँ हसनपुरमा बस्छु, नेपाल राष्ट्र बैंकमा काम गर्छु ।” आदि । पछि राजयोग हलमा लगाइएको चित्र प्रदर्शनी भयो । वार्तालापका क्रममा उहाँले भन्नुभयो, “यो चित्र कुम्भ मेलामा पहिला नै देखेको थिएँ । यसको बारेमा थाहा पाएको थिएँ । यो चित्र लगाएपछि यसको बारेमा छोटकरीमा भनिएको थियो ।”
वि.सं. २०५१ को फागुन÷चैत्रतिर हामी १०÷१२ जना परमात्मा मिलन कार्यक्रमको लागि मधुवन (जो ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय) तर्फ लाग्यौं । अहिले जस्तो यातायातको सुविधा प्रर्याप्त मात्रामा थिएन । हामी गोण्डा, दिल्ली हुँदै माउन्ट आबुतर्फ लाग्यौं । हामी मध्येमा गोपाल दाई सात्विक भोजन मन पराउने, तलेको–भुटेको भन्दा ताजा, सादा भोजन मन पराउने भएकोले उहाँले एक प्रेसर कुकर, एक स्टोप, एक सानो डेक्ची, थाल, कचौरा लिनुभयो । यसरी जाने क्रममा स्टेशनमा लामो समय रोक्ने ठाउँमा स्टोभ जलाएर भात, दाल, तरकारी पकाउने खाने र साथमा भएका साथीभाइलाई खुवाउने गर्नुहुन्थ्यो । यो एउटा पिकनिक जस्तै भयो । हामी मध्ये कसैवे तरकारी काटने, कसैले दाल चामल छान्ने काम गरियो । यसरी भोजन बनाउने काम फटाफट हुनथ्यो । खानपिन पछि ट्रेनमा गएर बस्थ्यौं । मुख्यालयमा पुगेपछि गाँसबासको व्यवस्था त्यहाँ हुने गथ्र्यो । मधुवनबाट फर्कँदा पनि जाने बेला जसरी भोजनको व्यवस्था हुन्थ्यो । धनगढी पुगेपछि नियमित जीवनको क्रमिकता प्रारम्भ हुन्थ्यो । बिहान ३.३० बजेबाट योग ध्यानको तयारी हुन्थ्यो । नियमित कक्षा सञ्चालन गरिन्थ्यो । यसरी सञ्चालन हुने कक्षामा उहाँ पहिले नै पुग्नुहुन्थ्यो ।
उहाँ कम बोल्ने, बढी काम गर्ने गर्नुहुन्थ्यो । कसैलाई पनि बोली र व्यवहारले बिझाउने काम गर्नुहुन्नथ्यो । उहाँले क्रोध गरेको मैले देखेको छैन । सधैँ गुणग्राही । उहाँले अरुका गुणलाई राम्ररी पहिचान गर्न सक्नुहुन्थ्यो । उहाँ कुनै कुराको पनि संग्रह गर्नुहुन्नथ्यो । २ जोर कपडा भए पुग्ने । २ रोटी, २ जोर कपडा मात्र भए पुग्यो । धेरै सञ्चित गर्नुहँुदैन नत्र भक्तिमा समयमा बुद्धि भौतिक पदार्थमा जान्छ भन्नुहुन्थ्यो । खानामा पनि चिल्लो, पिरो कम भएको खाना चाहिन्थ्यो । आफ्ना बालबच्चा (छोराछोरी)को गुणगान गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “मेरा बाबुहरू कुलतमा छैनन्, कहिँ बाहिरको खाना खाँदैनन्, फाल्तु खर्च गर्दैनन्, पढाइमा धेरै ध्यान दिन्छन् । जस्तो खाना दिए पनि खानामा दोष देख्दैनन्, प्यारले खान्छन् आदि ।
ओम शान्ति संस्थाको वृद्धि विकासको लागि उहाँको धेरै ठूलो योगदान छ । संस्थाको सेवामा कहिल्यै पनि नाइ भन्नु भएन । उहाँको मुखबाट हुन्छ भन्ने शब्द मात्र निस्किन्थ्यो । उहाँ तनको सेवा, मनको सेवा र धनको सेवामा सदैव अगाडि बढ्नुभयो । यसरी भन्नुपर्दा धनगढीको शाखा स्थापनाको आदि रत्न नै हुनुहुन्छ । उहाँभन्दा अग्रजमा खगेन्द्रमान श्रेष्ठ हुनुहुन्थ्यो । कुरा २०५२ सालतिरको हो, हामी चार भाई पहाडतिर जानको लागि तयार भयौं । गोपाल भट्ट, शिवलाल महतरा, ओमप्रकाश मल्ल अनि म । सबैभन्दा पहिले हामी डडेल्धुरामा पुग्यौं । डडेल्धुरामा अहिले जस्तो पक्की घरहरू थिएनन् । काठका घरहरू थिए । त्यहीँ बस स्टेशन अगाडिको होटलमा बस्यौं । पानीको अभाव भएको कारणले स्याउलेतिरबाट पानी ल्याएर खाना बनायौं । होटल वास भएपनि राष्ट्रिय वाणिज्य बैंकको पानी धारा प्रयोग गरेर स्नान, लुगाकपडा धुने काम भयो । दिनभर टुंडिखेल नजिकको शिव मन्दिरको प्राङ्गणमा आध्यात्मिक चित्र प्रदर्शनी गरियो । त्यसै दिन शेरबहादुर देउवा प्रथम पटक प्रधानमन्त्री भएपछि विमानबाट डडेल्धुरा आउनु भएको थियो । उहाँलाई भेटेर शिव मन्दिर भएर आउने कुराको चाँजोपाँजो गोपाल दाइले मिलाउनु भएको थियो । हामीले दिनभर त्यहाँ प्रदर्शनी ग¥यौं । एक दिन दुई रातको बसाइपछि पाटन, बैतडीतर्फ लाग्यौं । त्यहाँ बजारको मध्य भागमा आध्यात्मिक चित्र प्रदर्शनी ग¥यौं । चित्र प्रदर्शनी हेर्ने र सुन्ने मानिसहरूको घुइँचो थियो । दिनभरिको सेवापछि त्यहाँ रहेको कृषि विकास बैंकको गेष्ट हाउसमा बस्यौं । बिहान सिँचाई कार्यालयको पश्चिमतर्फ सल्लेरीमा पिकनिक जसरी भोजन बनायौं । त्यहीँ केही समय आराम गरेर साँझपख बैतडी, गोठलापानीतर्फ लाग्यौं । त्यहाँ पुग्ने बित्तिकै गोठलापानीमा चित्र प्रदर्शनी भयो । साँझ साहीलेक होटलमा बास बस्यौं । अर्को दिन त्यहीँ साइलेक स्कुलमा आध्यात्मिक, नैतिक मूल्य सम्बन्धित प्रवचन ग¥यौं । साँझपख उहाँको घर कुमालीमा बास बस्यौं । कुमालीमा पनि नजिकका मानिसहरू जम्मा गरेर शिव सन्देश दिन सक्षम भयौं । बैतडीको वास पश्चात छिमेकी देश भारतर्फ लाग्यौं । महाकाली पार झुलाघाट बजारमा २, ४ घण्टाको कार्यक्रम भयो । त्यसपछि हामी पिथौरागढ गयौं । त्यहाँ बिहानको भोजन पश्चात आध्यात्मिक चित्र प्रदर्शनी पश्चात शिव सन्देश दिने कार्य गरियो । पिथौरागढमा हाम्रो यस कार्यको माग धेरै भएपनि तत्काल समय कम भएका कारण त्यहाँबाट हिँडनुपर्ने भयो । पिथौरागढ भएर हामी सिधै महेन्द्रनगर, कञ्चनपुर (नेपाल) पुग्यौं । महेन्द्रनगरमा जलपान गरेर हामी एक सप्ताहको यात्रालाई विराम दिन घर (सेवास्थान) पुग्यौं । यसरी हाम्रो पहाडी भेगको भ्रमणसँगै भारतको पनि भ्रमण हुनपुग्यो । यसरी नै कैलाली जिल्लाको अत्तरियाको उत्तरतर्फ रहेको गोदावरी धाममा मकर संक्रान्ति (माघी) को अघि पौष मसान्तको रातभर गोदावरी नदी पारी रहेको मन्दिरमा माइकिङ गर्नु, आध्यात्मिक चित्र प्रदर्शनी गर्नु, राजयोग प्रवचन गर्ने काम भइरह्यो । हजारौं भक्तहरूले प्रदर्शनी एवं प्रवचनको लाभ लिनुहुन्थ्यो । हामी ५, ७ जनाको टिम भएर यी सबै काम सम्पन्न गर्दथ्यौं । देशमा संकटकाल लागु भएपछि हामीले यस किसिमका कार्य गर्न छोड्यौं । यी सब कार्यक्रममा गोपाल दाइको अग्रणी भूमिका रहन्थ्यो ।
उहाँमा ईश्वरप्रतिको समर्पण भाव थियो । ईश्वरीय आदेशलाई आफ्नो जीवनमा धारण गरेर अरुलाई पनि प्रेरित गर्ने महान आत्माको अमूल्य योगदान छ । भगवानलाई त सबैले मान्छन् । महान उही हो, जसले भगवानले भनेको मान्छ, जीवनमा उतार्छ । ऊ नै भगवानको सच्चा बच्चा हो । लामो समयसम्म ईश्वरीय विद्यार्थी रहनु भयो गोपाल दाइ । ओम शान्ति स्थापनाको प्रारम्भकालमा सुदूरपश्चिमका पहाडी जिल्लामा ज्ञानको बिजारोपण गरी अनन्त पूण्य आर्जन गरी हामीबाट विदा लिनुभएको छ, हामी सबै ईश्वरीय परिवारबाट । उहाँप्रति सत सत नमन ।
(महेन्द्र खनाल ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, धनगढीका प्रमुख व्यक्तित्व मध्ये एक हुनुहुन्छ ।)
No comments:
Post a Comment