“अब त्यसले गरिहाल्छ ...!”उबेला श्रद्धेय गोपालदत्त भट्टको यो वचनको अर्थ मैले खासै बुझेन ।
म हतारहतार धनगढीको एलएन चोकको त्यो कपडा पसलमा पुगेको थिएँ । कुनै पुस्तक छोडेर हतारैमा फर्किन खोज्दै थिएँ । श्रद्धेय भट्टले हातैको इशाराले एकछिन् बस्न आग्रह गर्नुभयो । उहाँको मुहारमा सौम्य, सालिन खुशी झल्किरहेको मैले अनुमान त गरेँ तर कुरा ठीकसँग बुझिरहेको थिएन ।
एलएन चोकको त्यो कपडा पसल हाम्रो दैनिकको बिसौनी थियो । लेखक पुष्करराज भट्टको परिवारले चलाएको त्यो कपडा पसलमा अक्सर उहाँका बुवा श्रद्धेय गोपालदत्त भट्ट बस्नुहुन्थ्यो र उहाँकी बहिनी हेमन्ती पनि । बस्न त पुष्करराज भट्ट पनि बस्नुहुन्थ्यो तर उहाँको काम कपडा बिक्री गर्नेभन्दा पनि धनगढी आसपासका लेखक सर्जकसँग भेटघाट गफगाफ गर्नु नै हुन्थ्यो । पुष्कर दाइसँगको सामिप्यताले म नियमित जसो त्यो पसल र उहाँको घरमा गैरहन्थे । त्यो परिवारका सबैसँग एक प्रकारको आत्मियता बनेको थियो ।
पुष्कर दाई नभएका वेला बुवाले उहाँको बारेमा समेत कुरा गर्नुहुन्थ्यो । विगत केही समय पुष्करदाइको अवस्थाप्रति बुवा केही निराश र केही चिन्तित हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थियो । उबेला पुष्करदाइको नियति ‘काम पनि छैन, फुर्सद पनि छैन’ भनेजस्तै थियो । लेखनमा उहाँ निकै सक्रिय हुनुहुन्थ्यो, तर लेखकीय व्यक्तित्वको खास आकार बनिसकेको थिएन । साहित्यिक संघसंस्थाका कामहरूमा निरन्तर खटिराख्नुहुन्थ्यो, तर दैनिकी चलाउनलाई खास आम्दानी केही थिएन । निरन्तर साधना गरिरहनु तर खास सफलता नपाउँदासम्मको अवस्थामा नेपालका लेखकहरुको कुन हविगत हुन्छ ? त्यो आम लेखकले थाहा पाएकै विषय हो । त्यस्तै अवस्था थियो पुष्कर दाइको ।
हरेक युवाका घरपरिवारका सदस्यको पहिलो अपेक्षा छोराछोरीले राम्रो पेशा र आयआम्दानी गरोस् भन्ने नै हुन्छ । सिर्जना, साधना, लोकप्रियता, कला आदि इत्यादि दोस्रो दर्जाका कुरा हुन् । समाजमा जतिसुकै लोकप्रिय र सम्मानित भएपनि व्यक्तिको आर्थिक अवस्था, आयआम्दानीको बाटो मजबुत छैन भने घरपरिवारका मानिसमा एक प्रकारको चिन्ता हुन्छ । सायद पुष्कर दाइका बुवाको मनमा पनि केही चिन्ता थियो । न नियमित आम्दानीको कुनै पेसा थियो, न त उहाँको क्याम्पस अध्ययन नै पुरा भएको थियो । स्नातक तहको कुनै एक विषयको नतिजाका कारण उहाँको नियमित अध्ययन केही वर्षदेखि रोकिएको थियो तर धेरै पटकको प्रयासपछि त्यो पार लाग्यो । अरु विषयमा नियमित राम्रो अंकमा उत्तिर्ण भए पनि अनिवार्य अंग्रेजीमा उहाँ धेरै पटक अनुत्तिर्ण हुनुभयो । त्यही धेरै पटकको अनुत्तिर्ण पछिको उत्तिर्ण भएको खुशी रहेछ त्यो दिन पुष्कर दाइका बुवाको मुहारमा । छोराको सानो सफलताको खुसी साँट्न रोक्नुभएको रहेछ उहाँले मलाई । “अब त्यसले गरिहाल्छ ...!”
हुन पनि बुवाले भनेजस्तै भयो । त्यो सानो सफलताको पछि सफलताका शृंखला थपिदै गए । छोराको स्वभाव र क्षमता राम्रोसँग बुझ्ने अभिभावकको रुपमा चिनेँ मैले श्रद्धेय गोपालदत्त भट्टलाई । त्यो पटकको अनिवार्य अग्रेजी विषयमा उत्तिर्ण भएपछि पुष्कर दाइले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । उहाँले नियमित उत्कृष्ट प्राप्तांकसहित स्नातकोत्तर तह उत्तिर्ण गर्नुभयो । नियमित एमफिल अध्ययन पुरा गर्नुभयो । नेपालमै पहिलो पटक नेपाली लघुकथामा विद्यावारिधि पुरा गर्नुभयो । त्यही दौरान दर्जन बढी पुस्तकहरु सम्पादन गर्नुभयो, दर्जन बढी पुस्तकहरूको लेखन प्रकाशन गर्नुभयो । गोरखापत्रमा डोटेली भाषा पृष्ठको सम्पादक बन्नुभयो । अध्ययन, अनुसन्धानका दर्जनौ काम गर्नुभयो । संघसस्थाका विविध जिम्मेवारीमा रहेर काम गर्नुभयो । राज्यका सम्मानित पुरस्कार प्राप्त गर्नुभयो । यति हुँदा धेरथोर आम्दानी पनि देखियो । छोराले अलिअलि नाम र अलिअलि दाम दुवै जोडेपछि बुवाको मुहारमा बेग्लै खुशी देखेको थिएँ पछिल्लोपटक ।
०००
विगतका केही वर्ष म निरन्तर पुष्कर दाइको घर गइरहन्थे । त्यो घर मलाई आफ्नै कुनै नजिकका आफन्तको घरजस्तो लाग्छ । त्यो घरका जाँदा घरका सबैले उत्तिकै स्वागत र हार्दिकता देखाउँछन् । मेरा आफ्नै बाआमाभन्दा बढी उमेरका पुष्कर दाइका बाआमाबाट बढी स्वागत र हार्दिकता देखिन्छ । मलाई अहिले पनि सम्झना छ, त्यो घरको गेटभित्र छिर्दा पहिलो भालाकुसारी बुवासँगै हुन्थ्यो । वयोबृद्ध बुवा हातमा पानीको बोतल र चियाको कप लिएर आउनुहुन्थ्यो । व्यक्तिगत, पारिवारिक सन्चोबिसन्चो देखि साहित्य, समाज र राजनीतिका कुरा गर्नुहुन्थ्यो । उहाँको सरलता अनुकरणीय थियो ।
उहाँलाई बढी देखिने अर्को स्थान थियो–एलएन चोकको कपडा पसल । उहाँलाई एक व्यापारीको रुपमा हेर्दा पनि उस्तै सरल र सभ्य देखिनुहुन्थ्यो । थुप्रै दिन सँगै बस्दा उहाँले कहिल्यै कुनै ग्राहकसँग चर्को बोलेको सुनिएन । हरेक ग्राहकसँग उहाँ अलि सरल, सभ्य र सम्मानित रुपले प्रस्तुत हुनुहुन्थ्यो । व्यापार व्यवसायमा नाफाघाटाको हिसाबकिताब त हुने नै भयो । कहिलेकाहीँ छोराछोरीहरुसँग सामानको मूल्य निर्धारणको बारेमा छलफल हुन्थ्यो । छोराछोरीको आरोप हुन्थ्यो–बुवा धेरै सस्तोमा दिनुहुन्छ सामान् । यसरी व्यापार गरे कसरी गुजारा हुन्छ ? बुवाको जवाफ हुन्थ्यो–भोकै बस्नु परेको छैन, बस्न घर छँदैछ, सटर भाडा तिर्न पुगिहाल्छ । ग्राहकको ढाड सेकेर धेरै कमाउनु हुँदैन ।
०००
देशको अस्तव्यस्तता देख्दा कैलेकाहीँ मेरा मनमा लाग्छ, देशका हरेक व्यक्तिले आफु आफु मात्र इमान्दार र सभ्य हुने हो भने र हरेक सचेत, इमान्दार र सभ्य अभिभावकले आ–आफ्नो परिवारलाई इमान्दार र सभ्य बनाइदिनेहो भने देश र व्यवस्था स्वतः सभ्य र व्यवस्थित भैसक्थ्यो होला । समाज वा देश बिगा¥यो भनेर कसैले अरु कसैलाई दोष लगाउनु पर्ने परिस्थिति नै बन्ने थिएन होला । तर विडम्बना, देशका बहुसंख्यक नागरिकहरू आफ्ना व्यक्तिगत, पारिवारिक व्यवहारप्रति उदासीन छन् तर अरुका प्रति भने टिकाटिप्पणी गरिरहन्छन् । श्रद्धेद गोपालदत्त भट्ट यस्तो आदर्शवान व्यक्ति हुनुहुन्थ्यो जो आफुले पनि सदा इमान्दार र सभ्य भएर काम व्यवहारहरु गर्नुभयो र आफ्नो घरपरिवारका सबै सदस्यलाई पनि आफुजस्तै आचरण, व्यवहार सिकाउनुभयो । व्यापार व्यवसाय होस्, पेसा क्षेत्र होस वा घरव्यवहार होस्, सबै क्षेत्रमा उहाँका जीवनसङ्गिनी, छोराछोरी सबै जना उत्तिकै सभ्य, भद्र, इमान्दार देखिन्छन् । त्यो घरका कुनै पनि सदस्यको व्यवहारमा छलछाम, लोभलालच, चाकडीचाप्लुसी, या कुनै व्यभिचारको अंंश रत्तिभर देखिँदैन । एक असल अभिभावकले निर्माण गरेको पारिवारिक उच्च आचरणको उदाहरण उहाँको परिवाको दैनिक व्यवहारबाट झल्किन्छ ।
मलाई लाग्छ, धनगढी आसपास वाङ्ंमय क्षेत्रसँग जोडिएको यस्तो कोही व्यक्ति नहोला जो पुष्करराज भट्टलाई चिनोस् तर उहाँका पिता श्रेद्धेय गोपालदत्त भट्टलाई नचिनोस् । धनगढी आउजाउ गर्ने बाहिरका होस् वा धनगढीभित्रकै सर्जकहरुको बिसौनी जस्तै थियो एलएन चोकमा रहेको भट्ट परिवारले सञ्चालन गरेको कपडा पसल । लेखक सर्जकहरू बस्ने भेटघाट गर्ने मिलन केन्द्र मात्र थिएन त्यो पसल, यहाँका सर्जहरुको सरसामान, पत्रपत्रिका लेनदने गर्ने गराउने केन्द्र पनि थियो त्यो पसल । अघोषित रुपमा सर्जक सरोकार केन्द्र नै थियो त्यो पसल । र त्यसको सबै चाँजोपाँजो श्रद्धेय भट्टले गर्नुहुन्थ्यो । त्यहाँ मात्रै हैन, हप्तैपिच्छे निवासमा आइरहने सर्जकहरुको स्वागत सत्कार, चियापानको व्यवस्थापन पनि उहाँ नै गर्नुहुन्थ्यो । आफु सर्जक नभएर पनि सर्जकहरु प्रति यति धेरै सम्मान र सद्भाव राख्ने विरलै व्यक्तित्व हुनुहुन्थ्यो श्रद्धेय गोपालदत्त भट्ट । छोराको रुचिको विषय क्षेत्रलाई यति धेरै प्रेम गर्ने बुवाको उदाहरण उहाँ हुनुहुन्थ्यो ।
०००
यो मुलुकमा मलाई कतै मन नपर्ने दुईथरी ढोङ छन् । एक हो, मुखमा उग्र कम्युनिज्म जपेर व्यवहारमा अन्धधर्म देखाइरहने । अर्को, मुखमा भगवान जपेर, शरीरमा सफेद वस्त्र लगाएर व्यवहारमा लोभपापका शृखला जगाइराख्ने । श्रद्धेय भट्ट सदा सफेद वस्त्रमा देखिनुहुन्थ्यो । बेलाबेला धार्मिक आदर्शका वचन बोल्नुहुन्थ्यो । मलाई मनपर्ने कुरा के भने उहाँ बोली र वस्त्रमा जस्तो आध्यात्मिक देखिनुहुन्थ्यो, व्यवहारमा साँच्चै त्यभन्दा बढी सादगी र पवित्र हुनुहुन्थ्यो । अध्यात्मको नाममा छलकपट र ढोङ रत्तिभर थिएन उहाँको व्यवहारमा । औपचारिक रुपमै उहाँले धनगढीमा प्रजापिा ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) स्थापनामा भूमिका खेल्नुभयो र आफु पनि त्यसको यात्रामा २८ वर्षभन्दा बढी समय सक्रिय रहनुभयो ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघबाट, प्रजापिता ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) लगायत विभिन्न संघसस्थाबाट सम्मानित एवं अभिनन्दित पनि हुनुभयो । हरेक एक व्यक्ति सँगै तीन जीवन बाँचिरहेको हुन्छ–व्यक्तिगत, पेसागत र सामाजिक जीवन । एक क्षेत्रमा सबल व्यक्ति अर्को क्षेत्रमा कमजोर हुनसक्छ । तर उहाँले तीन वटै क्षेत्रमा सन्तुलन मिलाएको जस्तो लाग्छ ।
देशभित्र र विशेष गरी स्थानीय ग्रामीण परिवेशमा शिक्षा हासिल गर्ने अवसर नभएको समयमा श्रद्धेय गोपालदत्त भट्टले देवसिंह हाईस्कुल, पिथौरागढ, उत्तर प्रदेश (भारत)बाट एसएलसी सम्मको अध्ययन पुरा गर्नुभयो । लगत्तै सरकारी जागिरे जीवन सुरुवात गर्नुभएका उहाँले नेपाल राष्ट्र बैंकमा ३५ वर्ष सेवा गर्नुभयो । वि.सं. २०५८ मा स्वेच्छिक अवकाशका बेला उहाँ नेपाल राष्ट्र बैंकमा सहायक लेखा अधिकृत तहमा कार्यरत हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैंकजस्तो स्थानमा जागिर हुँदाहुँदै स्वेच्छिक अवकास रोज्ने उहाँ विरलै मध्येको कर्मचारी हुनुहुन्थ्यो । नत्र त्यो सुविधाको जागिरमा कसैले स्वेच्छिक अवकास रोज्दैन । दुई चारै दिन भए पनि आलिअलि आर्थिक लालसा जोकोहीको मनमा हुन्छ । तर श्रद्धेय भट्टले त्यो स्वभाविक लालसा पनि देखाउनुभएन । आफ्नो जीवनको उर्जावान समयमा जे जति गर्न सकियो, त्यसैमा सन्तोष मान्नुभयो । २००३ वैशाख १४ बैतडीमा जन्मेका उहाँको २०७७ श्रावन ८ गते, धनगढी स्थित सारथी अस्पतालमा निधन भयो ।
एउटा कुरा मेरो मनमा लागिरहन्थ्यो, जीवनको अन्त्यतिर बुवा धेरै सन्तुष्ट हुनुहुन्थेन सायद । छोराछोरीका ससाना उपलव्धिमा पनि उहाँ खुशी व्यक्त गर्नुहुन्थ्यो । तर सामान्य अवस्थामा कैलेकाहीँ म सुन्थे–“केही भरपर्दो पेसा भएन, छोराछोरीको । सानै भए पनि नियमित र सुरक्षित आम्दानीको बाटो भैदिएको भए म सन्तोष मान्थेँ ...।”
आजकल सोच्छु, उहाँ केही वर्ष छिटो जानुभयो । चारपाँच वर्ष माथै थप बाँचेको भए उहाँ सन्तुष्ट हुनुहुन्थ्यो होला । अहिले दुवै छोराहरू ठीक बाटोमा पुगिसकेका छन् । छोरीले व्यापार ठीकै चलाइरहेकी छिन् । जेठो छोरा पुष्कर भाषा आयोगको सदस्य जस्तो राष्टकै विशिष्ट र गरिमामय पदमा पुग्नुभएको छ । कान्छो छोरा हेमराज एक क्याम्पसमा प्राध्यपन गर्नुहुन्छ । यो खुशी बुवाले देख्न पाउनुभएन । जीवनका सबै आकांक्षा पुरा हुँदैनन् । तर औसतभन्दा बढी खुसी र सन्तुष्ट जीवन कसैले व्यतित गर्न सक्यो भने त्यसलाई सफल व्यक्ति मान्नुपर्छ । मेरो विचारमा श्रद्धेय भट्ट सफल र पवित्र जीवन बाँचेर जानुभयो ।
०००
मजस्ता औसत दर्जाका लेखकहरुलाई सृजना क्षेत्रमा लागेर अथाह आर्थिक मुनाफाको सम्भावना छैन । अति लोकप्रियताको सम्भावना पनि छैन । कुनै ठूलै पद प्रतिष्ठामा पुगिने आशा पनि छैन । उसो भए यो क्षेत्रमा सन्तुष्टिको आधार के हो त ? कहिलेकाहीँ सोच्छु, सन्तुष्टिका केही सामान्य आधार छन् । तीमध्ये एक हो समयसमयमा केही सभ्य भद्र मानिसहरुसँग भेटघाट, चिनजान हुन्छ । हार्दिक सम्बन्ध निर्माण हुन्छ । यस्तै संयोग थियो पुष्करदाईका बुवासँगको भेटघाट । सिर्जनात्मक क्षेत्रमा हिँडिरहँदा भेटिएका थोरै भद्र र सभ्य गैरसर्जक व्यक्तित्वमध्ये पर्नुहुन्छ उहाँ । जीवनमा कसरी सभ्य, भद्र, सकारात्मक र सन्तुष्ट रहने भन्ने धेरथोर पाठ पनि सिकियो उहाँबाट । उहाँको सरलता र भद्र स्वभावको सम्झना सदा भैरहनेछ ।
janak.rasik@gmail.com
प्राज्ञ सदस्य
नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ