कीर्तिशेष गोपालदत्त भट्ट बैतडी जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिका वा=नं= ५ मा पर्ने कुमाली ग्राममा कश्यप गोत्रीय पिता स्व= रामचन्द्र र माता स्व=पद्मादेवी भट्टको सुपुत्रको रूपमा जन्मनुभएको हो । वि=सं= २०३२ सालदेखि २०५८ सालसम्म नेपाल राष्ट्र बैङ्क धनगढीको जागिरे जीवनपछि उहाँ निजी व्यवसायीको रूपमा चिनिनुभयो ।
शुरूका दिनमा उहाँसित मेरो भेट कहिलेकहीँ नेपाल राष्ट्र बैङ्कमा हुने गर्दथ्यो । त्यस बखत म पनि जिल्ला जन स्वास्थ्य कार्यालयमा कार्यरत थिएँ । वि=सं= २०४० सालदेखि २०५६ सालसम्म यदाकदा बैङ्कमा जानु पर्ने हुन्थ्यो । त्यस बेला नेपाल राष्ट्र बैङ्क श्री ठेकराज पन्तज्यूको बजारस्थित घरमा थियो । प्रायः काउण्टरसम्म मात्र हाम्रो काम हुन्थ्यो । बाटोमा भने उहाँसित सामान्यतया भेट हुन्थ्यो ।
वि=सं= २०६९ साल चैत्रमा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको भवन उद्घाटनका अवसरमा आफ्ना छोरा डा=पुष्करराज भट्टको ‘सिर्जनाको सौन्दर्य’नामक कृति श्री शेरबहादुर देउवाबाट विमोचन गराउनुहुँदै श्री गोपालदत्त भट्ट
भ्राता रामसिंह ऐरले धनगढीमा आएर प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको शाखा खोलेपछि उहाँ नियमित रूपमा त्यसमा आबद्ध हुनुभयो । म भने त्यस संस्थासित नियमित रूपमा गाँसिन असमर्थ रहेँ । यद्यपि भ्राता रामसिंह र म कक्षा ६ देखि ८ सम्म सहपाठी पनि रहेका थियौँ । उहाँको आग्रहलाई संस्थाका शुरूका ७ दिन जतिमा सम्पन्न गर्न सकेँ । किनभने गृहस्थाश्रममा बसेर त्यसका नियमभित्र बाँधिन म असमर्थ भएको आभास भयो ।
तर गोपालज्यू भने तिनको नियमित कक्षामा सुनेर ग्रहण गरेका सबै ज्ञानका कुरामा अत्यन्तै दृढ विश्वासिलो भएर लाग्नुभयो । उहाँले आफ्नो कपडा पसलको नाउँ पनि शिवबाबाकै नाउँमा स्थापना गर्नुभयो ।
उहाँले एकदिन भन्नुभयो,—“अब यो संसार धेरै दिनसम्म टिक्नेवाला छैन । बाबाले घोषणा गरिसकेको छ कि ६ महिनाभित्रै प्रलय हुन्छ ।”
मैले भनेँ,—“हजुरले जे जे भन्यो त्यसमा मात्रै विश्वास गर्नुभन्दा हाम्रा वैदिक तथा पौराणिक ग्रन्थहरूको पनि अध्ययन गर्नुपर्यो । किनभने त्यसमा सृष्टिचक्रका बारेमा विस्तारसित वर्णन गरिएको छ ।”
उहाँ यतिसम्म आफ्नो संस्थामा पाइने ज्ञानमा विश्वासिलो हुनुहुन्थ्यो कि कसै अन्यले भनेको कुरामा कदापि विश्वास गर्नु हुँदैनथ्यो । आश्रममा ब्रह्मकुमारी हिरा बहिनीले भनेको बाहेक अथवा माउण्ट आबुमा पाएको ज्ञान बाहेक अरू कुनै पनि ग्रन्थमा विश्वास नै गर्नु हुँदैनथ्यो ।
मैले भने,—आंशिक प्रलय नित्य प्रक्रिया हो, जुन प्रतिपल भई नै रहेको हुन्छ । महाप्रलय सम्बन्धमा हाम्रा चार युगको आयु,
चौध मन्वन्तर लगायतका निमेषदेखि बृहताकार समय सीमाको वर्णन हाम्रा ऋषिमुनि वा तात्कालिक वैज्ञानिकहरूबाट उद्घाटित गरिएका कुरामा पनि उहाँ विश्वास गर्नु हुँदैनथ्यो ।
उहाँको पसलमा आउने जुनसुकै व्यक्तिसित पनि शिवबाबाको शक्तिको बारेमा चर्चा गर्नु नियमित कर्मजस्तै भइसकेको थियो । उहाँको विचारसित असहमतप्रति पनि उहाँ आक्रोशित भने हुनु हुँदैनथ्यो । शान्त स्वभाव, शुद्ध सात्विक आहार,
श्वेतवस्त्रले गर्दा उहाँ देवताजस्तै देखिनुहुन्थ्यो । जो आए पनि आत्मीयतापूर्वक स्वागत गर्नु उहाँको दिनचर्या थियो । म त बजार जाँदा तिनको पसलमा नियमित रूपमा नै जाने गर्दथेँ ।
वि.सं=२०६४ साल पौष १४ गते सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको निर्वाचनमा मलाई अध्यक्षमा निर्विरोध चयन गरियो । श्री गोपालज्यूका ज्येष्ठ सुपुत्र पुष्करराज भट्ट सचिवमा हुनुभयो । केही समयपछि कारणवश उहाँले राजिनामा दिनुभयो । उहाँलाई राजिनामा नदिन राजी गराउन म श्री लक्ष्मीनारायण चोकस्थित उहाँको कपडा पसलमा गएँ । तर पुष्करजी राजिनामा फिर्ता लिन राजी हुनु भएन ।
पुष्करजीलाई हजुरले सम्झाइदिनु पर्यो भनी श्री गोपालज्यूसित अनुरोध गर्दा श्री गोपाज्यूले,—“पुष्करले राजिनामा दिएपछि उसलाई फिर्ता गराउने प्रयास नै नगर्नोस्” भन्नुभयो । म उसको बुवा हुँ उसको आदतबारे मलाई सबै थाहा छ । ऊ कसैले भने पनि मान्नेवाला छैन । उसको आदत उसको ग्रहदशाका कारण निश्चित भएको छ । मलाई उसको जन्मपत्रीबाट उसको भविष्यबारे पूरा ज्ञान छ । त्यसैले प्रयास नगरौँ ।” यसबाट उहाँलाई ज्योतिषी विद्या पनि आउने रहेछ भन्ने थाहा भयो ।
उहाँजस्ता व्यक्तिहरू वर्तमान समाजमा सफल नहुन सक्छन् । तर उहाँजस्ता व्यक्तिहरू यस जीवनमा मुक्त भने अवश्य हुन्छन् । उहाँलाई घरपरिवारको कुनै चिन्ता थिएन भन्दा हुन्छ । उहाँले सबै कुराहरू शिवबाबामा नै निहित छ भन्नुहुन्थ्यो । त्यसले गर्दा सामान्य जीवनमा घटित घटनाप्रति आग्रह पूर्वाग्रहविहीन हुनुहुन्थ्यो । उहाँभित्र श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई ‘सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज’को भावको प्रतिपालक बनिसक्नुभएको थियो । यस्ता व्यक्तिको जीवनचर्या परिवारजनका लागि अपाच्य हुन सक्दछ । शिवबाबामा समर्पणभावले गर्दा यस्ता व्यक्तिमा त्यसको प्रभाव भने नपर्ने रहेछ भन्ने कुरा उहाँको जीवनबाट थाहा हुन्छ ।
म काठमाडौँ थिएँ । उहाँको परलोकको खबरले मलाई आश्चर्य भने लागेन । किनभने मलाई थाहा भइसकेको थियो कि उहाँले यस जीवनमा नै मुक्ति प्राप्त गरिसक्नुभएको थियो भन्नेकुरो ।
‘विश्वासं फलदायकम्’भनिन्छ । उहाँको विश्वासले उहाँलाई मुक्ति दिलाइसकेको थियो भन्नेमा म विश्वस्त छु ।
पारिवारिक रूपमा पनि मैले उहाँका परिवारजनसित परिचित हुने मौका पाएँ । उहाँले भनेजस्तै ‘कर्मयोगी’पुत्र डा.पुष्करराज भट्टले ‘लघुकथा’मा विद्यावारिधि प्राप्त प्रथम व्यक्ति बन्नुका साथै ‘भाषा आयोगको माननीय सदस्य’जस्तो गरिमामय पद ग्रहण गरेर नेपाल तथा अन्य मुलुकमा समेत आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएको छ ।
अन्तमा स्व.गोपालदत्त भट्टज्यूको शिवबाबामय शिवसायुज्य प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।


No comments:
Post a Comment