विक्रम सम्वत् २०..... सालमा उहाँ राधिका देवीसँग विवाह बन्धनमा बाँधिनुभएको थियो। उहाँका जेठा पुत्र डाक्टर पुष्करराज भट्ट, छोरी हेमन्ती भट्ट र कान्छा छोरा हेमराज भट्ट हुनुहुन्छ। बुवाआमाबाट प्राप्त उचित शिक्षा–दीक्षाका कारण डाक्टर पुष्करराज भट्ट भाषा आयोगका सदस्य, छोरी हेमन्ती भट्ट एक कुशल व्यवसायी र कान्छा छोरा हेमराज भट्ट क्याम्पसमा प्राध्यापन पेशामा संलग्न रहनुभएको छ।
म जागिरको सिलसिलामा विक्रम सम्वत् २०५४ सालको अन्त्यतिर कैलालीको धनगढी जाँदा डा. पुष्कर भट्टसँग राजनीतिक तथा साहित्यिक भावनाका कारण नजिक हुन पुगेँ। उहाँकै कारणले यो परिवारसँग पनि निकट हुन पाएँ। संयोगवश डा. पुष्करजीको विवाहमा जन्ती जाने अवसर पनि प्राप्त भयो। उहाँसँगको निकटताका कारण बुवासँग विभिन्न प्रसङ्ग र विषयमा संवाद गर्ने अवसर प्राप्त भयो। ओम शान्तिको सेतो पहिरनमा सदैव शालीन देखिने गोपालदत्त भट्टज्यूलाई म “बुवा” भनेर सम्बोधन गर्ने गर्थेँ। म धनगढीमा रहँदा एलएन चोकमा रहेको कपडा पसलमा बसेर ओम शान्तिका विषयमा कैयौँ जिज्ञासा व्यक्त गरेको पनि सम्झना छ। तत्कालीन समयमा राजनीति र अध्ययनलाई सँगसँगै अघि बढाइरहेका पुष्करजी र मेरो सम्बन्धका कारण बुवासँग मेरो सामीप्यता अझ बढ्दै गयो। त्यसैले ओम शान्तिका विभिन्न पक्षबारे पहिले धेरै जानकारी नभए पनि पछि–पछि हामीबीच त्यस विषयमा चर्चा हुने गर्थ्यो।
नेपाल राष्ट्र बैंकमा कर्मचारीको रूपमा कार्यरत रहँदा उहाँले डडेलधुरा र बैतडीमा पनि जागिर गर्नुभएको थियो। तर विक्रम सम्वत् २०४१ सालदेखि धनगढीको हसनपुरमा घर निर्माण गरी स्थायी रूपमा धनगढीवासी बन्नुभएको पाइन्छ।
जागिरबाट अवकाश लिएपछि कपडा व्यवसायमार्फत व्यापार गर्दै आयआर्जन र सक्रियता कायम राख्नुभएका स्वर्गीय गोपालदत्त भट्टको सक्रियताले हामी सबैलाई कुनै न कुनै रूपमा प्रेरित गरेको छ। करिब २८ वर्षसम्म प्रजापिता ईश्वरीय विश्वविद्यालय (ओम शान्ति), धनगढीका संस्थापकहरूमध्ये एक रहनु भई जागिर, आध्यात्म र व्यवसायको त्रिवेणीलाई एकसाथ अघि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो। उहाँलाई नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घबाट २५ वर्षे सेवा पदक तथा प्रजापिता ईश्वरीय विश्वविद्यालय (ओम शान्ति)बाट सपत्निक सम्मान तथा अभिनन्दन गरिएको थियो।
बैतडीबाट सपरिवार धनगढीमा बसाइँसराइ गरी नोकरी, व्यापार र आध्यात्मिकतासँगै आफ्ना सन्ततिलाई उचित शिक्षा–दीक्षा दिनुभएको थियो। विक्रम सम्वत् २०७७ सालको श्रावण महिनामा उहाँको निधन भए पनि उहाँ जीवित रहँदा देखाउनुभएको सक्रियता समाज र परिवारका लागि सधैं प्रेरणाको स्रोत बन्ने विश्वास गर्न सकिन्छ।
उहाँका परिवारबाट स्मृति ग्रन्थ प्रकाशित हुने जानकारी प्राप्त हुँदा बुवाप्रति श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु।

No comments:
Post a Comment