असल व्यक्तित्व गोपालदत्त भट्ट ः श्रेष्ठ प्रिया पत्थर

स्वर्गीय श्री गोपालदत्त भट्टज्यूको बारेमा लेख्नुपर्दा प्रिय भाइ साहित्यकार डाक्टर पुष्कराज भट्टसँग जोडिनै पर्छ । २०५५ सालतिर होला, सुदूरपश्चिमाञ्चल साहित्य समाज र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बाल साहित्य कार्यक्रम धनगढीमा राखिएको थियो, त्यो कार्यक्रममा सहभागी हुन म पनि पुगेको थिएँ । त्यसै कार्यक्रममा पहिलोपटक पुष्कर भाइसँग मेरो परिचय भएको थियो । उनी त्यतिखेर कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै थिए र साहित्य लेखनको कार्यमा सक्रिय थिए । उनले त्यतिखेर पनि बनेपा काभ्रेबाट प्रकाशित हुने आदरणीय मोहन दुवालज्यूको मासिक पत्रिका जनमतको लागि सहयोग गर्ने काम गरिरहेका थिए । त्यसपछि धनगढी बस्ने क्रममा उनीसँग मेरो साहित्यिक अपनत्व बढ्दै गयो । उनको साहित्यप्रतिको समर्पण र लेखन मेरो लागि उनीसँगको प्रगाढताको सहयोगी हुन पुग्यो । धनगढीमा हुने प्रत्येक साहित्यिक कार्यक्रममा उनको सहभागिताका कारण भेटघाट पनि बढ्दै गयो । त्यसै क्रममा थाहा भयो, उनको पिता गोपालदत्त भट्टज्यूले धनगढीको एल. एन .चोकमा कपडाको पसल सञ्चालन गर्नुभएको रहेछ र पुष्करजी फुर्सदको समयमा पसलमा बसी पिताजीलाई सघाउनु हुँदोरहेछ । पुष्करजीसँग भेटघाट गर्न पसल पुग्दा उहाँको पिताजीलाई फित्ताले कपडा नाप्दै ग्राहकसँग बातचीत गरिरहेको देख्ने गर्थें । उहाँसँग कुराकानी गर्दा उहाँ अत्यन्तै हार्दिकतापूर्वक कुरा गर्नुहुन्थ्यो । सायद म बैंककै कर्मचारी भएको र उहाँ पनि राष्ट्र बैंकबाट अवकाश लिएको कर्मचारी हुनुको कारणले पनि हुनसक्छ, उहाँको र मेरो कुरा मिल्ने गर्थ्यो । 

उहाँ अत्यन्त शान्त स्वभावको हुनुहुन्थ्यो । उहाँ ओम शान्ति समाजको सदस्य भएको हुनाले पनि उहाँको शान्त स्वभाव मलाई स्वाभाविक लाग्ने गथ्र्यो । उहाँ प्रायः आफ्नो परिवारको, छोराछोरीको, समाजको, देशकाल परिस्थितिको बारेमा चर्चा गर्नुहुन्थ्यो । उहाँ आफ्नो पहिरनमा प्रायः सेतो कुर्ता र सेतो पाइजामामा देखिनुहुन्थ्यो । उहाँ अलि छोटो कद, फुर्तिलो शरीर, सामान्य जीवन कुनै देखावटीपन नभएको तर व्यवहारमा अग्लो स्वभावका हुनुहुन्थ्यो । उहाँले आफ्नो जेष्ठ पुत्र पुष्करराज भट्ट र कान्छो छोरा हेमराज भट्टको शुभ विवाहमा पनि मलाई निमन्त्रण गर्नुभएको थियो र परिवारको सदस्य सरह उहाँको घरमा मैले स्नेह र सम्मान पाएकी थिएँ । उहाँ मलाई बहिनी भनेर सम्बोधन गर्नुहुन्थ्यो ।    

पुष्कर भाईसित साहित्यिक एवं आत्मीय सम्बन्धको कारणले पनि हुनसक्छ, उहाँ मलाई आफ्नै बहिनी सरह मान्नुहुन्थ्यो । प्रजापिता ईश्वरीय विश्वविद्यालय(ओम शान्ति) परिवारको सदस्य भई उहाँ कैयौँ पटक मित्र राष्ट्र भारतमा हुने कार्यक्रममा सहभागी हुन उहाँ धनगढीको समूहसित जानुहुन्थ्यो र मलाई पनि एकपटक त्यहाँ पुर्याउने उहाँको धोको थियो । हुन्छ, दाजुसित एकपटक जाउँला भन्ने मैले वचन दिएको थिएँ तर त्यो पूरा हुन सकेन । विक्रम सम्वत २००३ साल वैशाख १४ गते बैतडी जिल्लाको दशरथ चन्द ५ कुमालीमा जन्मनुभई भारतको पिथौरागढबाट एसएलसी गरी पहिले राष्ट्रिय वाणिज्य बैंकमा र पछि नेपाल राष्ट्र बैंकमा ३५ वर्षसम्म सेवा गरी सहलेखा अधिकृत पदबाट २०५८ सालमा शैक्षिक अवकाश लिनुभएका भट्टजी २०३२ सालपछि धनगढीमा बसोबास गर्दै आउनुभएको थियो । जागीरबाट अवकाश पछिको समय उहाँले कपडा व्यापार तथा आध्यात्मिक चिन्तनमा बिताउनुभयो । २०५८ सालपछि २०६८ सालसम्म उहाँले धनगढीको एल एल एन चौकमा कपडा पसल राखी व्यापार गर्नुभयो । प्रजापिता ईश्वरीय विश्वविद्यालय कैलालीको संस्थापक भई समाजमा शान्ति, सुव्यवस्था, ईश्वरीय चिन्तनमा संलग्न रही सेवा गर्नुभयो । पछिल्ला दिनमा उहाँले आफ्नो अस्वस्थ्यताको कारण कपडा पसल बेचिदिनुभयो र ईश्वरीय चिन्तनमा एक मन र ध्यानले संलग्न हुनुभयो । म प्रायः उहाँलाई बजारमा हिँड्दै गरेको देख्थे कुशलक्षेम सोध्थें । उहाँ पनि मलाई सोध्नुहुन्थ्यो । उहाँको भित्रभित्रै स्वास्थ्य बिग्रिदै गएको कुरा भने मलाई भन्नुभएको थिएन । एक्कासी २०७७ साल श्रावण ७ गते पुष्करराज भट्ट भाइको बुवा सिकिस्त हुनुहुन्छ र सारथी अस्पतालमा भर्ना हुनुभएको छ भन्ने फोन आयो । म र साथी हेमन्ती जोशी हतारहतार गरेर सारथी अस्पतालमा पुग्यौँ । उहाँलाई इमर्जेन्सीमा राखिएको थियो । उहाँ बेहोस हुनुहुन्थ्यो, हामीले उहाँसँग कुनै वार्ता गर्न सकेनौँ ।  भाइ पुष्कराज भट्टलाई जे परे पनि छोरा मान्छेले सहनुपर्छ भन्ने सान्त्वना र ढाढस दिएर फर्क्यौं । योभन्दा बढी हामीले गर्न सक्ने कुरा केही थिएन । ईश्वरको इच्छाको अगाडि हार मान्नैपर्छ । भोलिपल्ट पुष्कर भाइबाट नै थाहा पायौं, उहाँले श्रावण ८ गते यस संसारबाट बिदा लिनुभएछ । संसारमा मान्छे जन्मन्छन् र जन्मेपछि एकदिन यस संसारलाई छोडेर सबैले जानु नै पर्छ । यो साश्वत सत्य हो । गोपालदत्त भट्ट साहित्यकार डाक्टर पुष्करराज भट्टको पिता मात्र हुनुहुन्थेन, बरु एउटा असल व्यक्तित्वको, निष्कलंक छविको मान्छे हुनुहुन्थ्यो । ज्ञानगुणको कुरा बाँड्नुहुन्थ्यो र समाज सदैव शान्त समृद्ध र संस्कारी होस् भन्ने चाहनुहुन्थ्यो । समाजमा बस्ने प्रत्येक मान्छे असल चरित्रको भएपछि मात्र समाज बन्छ । समाज राम्रो बने देश पनि राम्रो हुन्छ भन्ने उहाँको चिन्तन अत्यन्त अनुकरणीय रहेको मैले पाएको छु । आज उहाँको स्मृतिमा पुष्करराज भट्टले स्मृति ग्रन्थ प्रकाशित गर्न लागेको कुराले मलाई हर्षित तुल्याएको छ । एक पुत्रले आफ्नो पिताद्वारा परिवारको संरक्षणको लागि गरेको सङ्घर्ष, समर्पण र सामाजिक कार्यलाई उजागर गर्ने उद्देश्यले प्रकाशित गर्न लाग्नुभएको यस स्मृति ग्रन्थले पुत्रको धर्म कर्तव्यलाई मैले सत्कर्मको रुपमा लिएको छु । अन्त्यमा दिवंगत हुनुभएका दाजु गोपालदत्त भट्टको आत्माको चिर शान्तिको कामनाका साथै उहाँको परिवारको सुखसमृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।  

स्मृतिमा गोपाल दाजु-हेमन्ती जोशी

         जीवनमा कैयौं, रुपरंग, स्वभाव भएका मान्छेहरू सँग भेट हुन्छ । त्यसपछि समयसँगै स्मृतिबाट ओझेल हुँदै जान्छन् । जीवनको कुनै मोडमा कसैसँग भेट हुँदा सम्झिने गरिन्छ । आफ्नो आनीबानी र स्वभाव विशेषले गर्दा गर्दा कुनै मान्छे सदा स्मृतिमा रहन्छन् । यसरी स्मृतिमा बाँचिरहनु भएको छ गोपाल दाजु । जागीरे जीवनको अवकाशपछि उहाँले धनगढीको लक्ष्मीनारायण चोकमा कपडा पसल खोलेर व्यवसाय गर्नुभयो । राम्ररी सम्झना छ, पसलको नाम थियो ओम शिवशक्ति ट्रेडर्स । धनगढीको एकदमै बीच भागमा पसल भएकोले सबैको नजर पर्दथ्यो । म पनि धनगढीको बासिन्दा भएकोले त्यो पसलमा कपडा, पूजाको लागि वस्त्र आदि सामान किन्न गइन्थ्यो । गोपाल दाजूको सुस्तरी बोल्ने हँसिलो अनुहार, सफा सेतो पहिरन जस्ता केही विशेषताहरू थिए । उहाँको पहिरन, विनम्रता, आध्यात्मिक चिन्तन आदिले गर्दा ठगिनुपर्ने डर पटक्कै लाग्दैनथ्यो । अरुको हेर्दा भीडभाड पनि बढी नै हुन्थ्यो गोपाल दाजुको पसलमा । पसलमा आएका ग्राहकहरूलाई छेउमा बस्ने व्यवस्था पनि थियो । म सामान किन्न आएको बेला ओम शान्ति ईश्वरीय भक्तिको बारेमा कुराकानी गरिरहनुहुन्थ्यो । शुरुमा मेडम भन्नुहुन्थ्यो पछि बहिनी भनेर सम्बोधन गर्न थाल्नुभयो । धेरै पटक दाजूले मलाई र मित्र श्रेष्ठ प्रिया पत्थरलाई माउन्ट आबु जानको लागि भन्नुभएको थियो । माउन्ट आबु जानलाई पाँच दिनको कोर्स गर्नुपर्ने र प्रमाणपत्र प्राप्त गरेपछि मात्र टीमसँग जान पाउने प्रावधान रहेछ । ८–१० दिनको बसाई, त्यसमा जागीरको कारण हामीले जान सकेनौं । उहाँले पछि सम्म पनि तपाईँहरू माउन्ट आबु एक पटक पुग्नुहोला भनेर भन्नुहुन्थ्यो । हाम्रो आफ्नै व्यस्तताले त्यस्तो महत्वपूर्ण ठाउँमा पुग्न सकेनौं । २०६८ सालतिर उहाँले कपडा पसल पनि बन्द गरेर पूर्ण रूपमा अध्यात्म क्षेत्रमा समर्पित हुनुभयो । 

    ओम शान्तिमा २८–३० वर्ष संलग्न रहनु भएपछि प्रजापति ईश्वरीय विश्वविद्यालयबाट पनि भाउजु सहित (सपत्नीक) सम्मानित हुनुभएको पनि जानकारी छ । हाल भाषा आयोगका सदस्य, साहित्यकार भाई डा. पुष्करराज भट्ट सँगको निकट सम्बन्धले गर्दा पनि हामीलाई पारिवारिक कुराहरू बारे जानकारी भइरहन्थ्यो । गोपाल दाजु बिरामी भएर थला परेको, दुःख पाएको केही भएको थिएन । एक दिन अचानक भाइ पुष्करराज भट्टको खबर आयो कि राति बुवालाई अचानक स्टक आयो । बेहोशीको अवस्थामा अस्पताल पुर्यायौं। अहिले सारथीको सघन कक्षमा उपचाररत हुनुहुन्छ । यति सुनेर मित्र प्रिया र म अस्पताल पुग्यौं । दाजूको अवस्था नराम्रो भएका कारण काठमाडौं लग्न पनि नसकिएको रहेछ । अस्पतालमा परिवार, आफन्त, इष्टमित्र र ओम शान्तिबाट आएका मानिसहरूको ठूलो भीड थियो । जो जति आएपनि, जति प्रयास गरेपनि समय आएपछि कसैको केही लाग्दो रहेनछ । सघन कक्षको झ्याल अलि खोल्न लगाएर बाहिरैबाट हामीले अनुहार सम्म हेर्यौं  २०७७ साउन ८ गते सारथी अस्पतालमा गोपाल दाजू ब्रम्हलीन हुनुभयो । आफ्ना सन्तानले गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरिरहेका छन् छोराछोरीहरूले । भाई डा. पुष्करराज भट्टले आफ्ना बाबुआमाको नाममा पुरस्कारको स्थापना गर्नुभएको छ । उहाँले बुवाको स्मृतिमा ग्रन्थ पनि प्रकाशनको क्रममा रहेको छ । मलाई पनि संझनाका केही शब्द लेख्ने मौका दिनुभएकोमा हार्दिक आभारी छु । दाजूको बैकुण्ठ वास होस् ।

धनगढी, कैलाली  

एक सज्जन पुरुष

            
एक सज्जन पुरुष

कल्यान ओझा, धरमापुर (कञ्चनपुर)

        लगभग दुई तीन पटकको भेटमा पनि मैले चिन्दै नचिनेका व्यक्तित्व हुन हुनुहुँदो रहेछ स्व. गोपालदत्त भट्ट । देखावटी फूर्तिफार्ति नभएका उहाँलाई मैले चिनेको रहेनछु । चिन्नैपर्ने व्यक्ति हुनुहुदोँ रहेछ स्व. गोपालदत्त भट्ट । उहाँ मेरा मित्र डा. पुष्करराज भट्टका पुज्य बुवा । एक पटकका भेटमा मित्रले नै बुबा भनेर परिचय गराएपछि बल्ल मैले उहाँलाई चिनेँ । पछिपछि त उहाँलाई देख्नेबितिकै मलाई लाज लागेर आउँथ्यो । थोरै बोल्ने, बिस्तारै बोल्ने कसैलाइ नदुख्ने गरी बोल्ने ॐ शान्तिको सेतो पहिरनमा रहिरहेको सम्झिन्छु । सायद ॐ शान्तिको कडा नियममा पनि रहिरहने एक सादा जिवनमा दिनचर्या व्यतित गर्ने व्यक्ति गोपालदत्त भट्ट अचानक स्वर्गीय भएको घटनाले मन अमिलो भयो । शायद एक महिनापछि मात्र थाहा पाएँ मैले । मान्छेको जातै हो, आफुले थाहा पाएको खबर भरसक अरुलाई नभन्ने । जे होस्, मन अमिलो भयो । गोपालदत्त भट्ट अब यस दुनियाँमा हुनुहुन्न भन्ने कुरा थाहा पाएपछि । उहाँको आत्माप्रति मेरो हार्दिक श्रद्धाञ्जली ।

        उहाँले आफ्नो जीवनकालमा ३५ वर्ष नेपाल राष्ट्र बैंकमा सेवा गरी अवकाश लिनुभएको रहेछ । स्वेच्छिक अवकाश लिने बेला उहाँ सहयक लेखा अधिकृतमा बहाल हुनुहुँदो रहेछ । उहाँले डडेल्धुरा, बैतडी एवं कैलालीमा नौकरीको अवधिमा सेवा गर्नुभएको थियो । उहाँ ॐ शान्ति, कैलालीको संस्थापक मध्ये एक हुनुहुन्छ ।

        परिवार जस्तै सम्बन्ध रहेका स्व. भट्ट यतिखेर मेरै छेउमा हुनुहुन्छ जस्तो लागिरहेछ मलाई । वि.सं. २००३ बैशाख १४ मा जन्मिएर वि.सं २०७७ श्रावण ८ गते धनगढीको सारथी अस्पतालमा स्वर्गीय भएका स्व.भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यी स्मरणका दुई शब्द विश्राम गर्दछु ।

            
             

     

श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...