बैतडी जिल्लाको सदरमुकाम नजिकैको सुन्दर गाउँ कुमालीमा जन्मिनु भएका कीर्तिशेष गोपालदत्त भट्टज्युसँग २०६० सालतिर हो कि जस्तो लाग्छ, परिचय भएको । हालका भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट त्यतिबेला गजल लेख्नु हुन्थ्यो । गजलकार भनेर चिन्थे म उहाँलाई । पछि उहाँसँग निकटता बढेपछि थाहा पाएको हुँ उहाँ साहित्यका सबैजसो विधामा कलम चलाउनु हुन्छ भनेर । साहित्यकार पुष्करराज भट्टको सम्पर्क एलएन चौक धनगढी भनेर पत्रपत्रिकामा पढ्न पाइन्थ्यो । साहित्यकार कल्यान ओझाबाट प्राप्त सल्लाह अनुसार म एलएन चौकमा साहित्यकार पुष्करराज भट्टज्युलाई भेट्न भनी गएको थिएँ । एलएन चौकमा कपडाको पसल, पसलमा बुवा भेटिनु भयो । पुष्करजीको नाम लिए, बस्न भन्नुभयो । मलाई मेरो घरबारे सोध्नुभयो, मैले आफ्नो घर बैतडी भएको कुरा बताएपछि उहाँले मेरो घर पनि बैतडी कुमाली हो भन्नुभयो । यस्तैयस्तै कुराकानी पश्चात् बिरानो धनगढीमा आफ्नै घर पुगे झैं लाग्यो । कुमालीसँग मेरो स्कुले जीवनको नाता थियो । कुमाली भन्ने बित्तिक्कै शिवदत्त भट्ट गुरुको याद आयो र सोधिहालेँ । उहाँले नजिकैको आफन्त भएको बताउनुभयो, झन आत्मीयता बढे झैं लाग्यो । भलाकुसारी भएपछि उहाँले चियाको लागि सोध्नुभयो, मैले अँ पनि भन्न सकिन्, नाइँ पनि भन्न सकिन । उहाँले चिया मगाउनु भयो । पछि पुष्करजीसँग भेट भयो, महिना र गते भने ठ्याक्कै बिर्सिएछु ।
पहिलो भेट मैं आत्मीयताको महसुस भएको थियो उहाँसँग । म विद्यार्थी जीवन र मास्टरी जीवनको दोहोरो भूमिकामा थिए । साहित्य खासै कोर्न नआउने तर साहित्यकारहरूका सिर्जना पढ्न भने औधी मन पराउने गर्थें । खडखड बाटो भएपनि धनगढी आतेजाते भइरहन्थ्यो । एलएन चौकमा उहाँसँग भेट भइरहन्थ्यो । पछि मात्रै थाहा भएको हो, उहाँ बैंकको जागिरे जीवनबाट अवकाशप्राप्त कर्मचारी भएको कुरो । पटकपटकको भेटमा उहाँ आफ्नो जीवन संघर्षका कथा सुनाइरहनु हुन्थ्यो र जीवनमा केही गर्न मिहिनेत र संघर्ष जरुरी भएको सुझाउनु हुन्थ्यो । मैले आफ्नो थोरै बसाइमा उहाँमा सरल स्वभाव र संघर्षशील जीवन भएको कुरो ठम्याएको थिएँ । पुष्करजीको संघर्षशील जीवन देख्दा बुवाका गुणहरू ठ्याक्कै छोरामा सरेका हुन कि झैं लाग्छ । म शाहीलेक स्कुल पढ्दा कुमाली गएको कुरा सुनाउँदा उहाँ साह्रै खुसी हुने गर्नहुन्थ्यो । पहाडको सौराइ लाग्ने कुरो बताउनु हुन्थ्यो । २०६७-०६८ तिर हो, सायद उहाँसँग अन्तिम भेट भएको । त्यसपछि लामो समय धनगढी गइएन । पछि उहाँको देहावसान पश्चात् हेमबाबु लेखकसित किरियापुत्री भेट्न र श्रद्धाञ्जली तथा समवेदना दिन निवासमा पुगेको थिएँ । मैले चिनेका भट्ट एक संघर्षशील व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँगका छोटो बसाइका क्षणहरू आज पनि मानसपटलमा ताजै छन् । कीर्तिशेष भट्टमा हार्दिक श्रद्धासुमन ।
महेन्द्रगर—१५, रामजानकी टोल
No comments:
Post a Comment