गोपालदत्त भट्टसँग केही सङ्गत –मेघनाथ बन्धु

१. पृष्ठभूमि 

        मानिसले जीवनयापन गर्ने क्रममा विभिन्न सोच र व्यवहार युगौंसम्म पनि आफूलाई जीवित राख्न सक्दा रहेछन् । आफूले जानेका बुझेका र अनुभव गरेका आफ्ना अनुभूतिले अरूको मनलाई पगाल्दै भलाइ सोचेर मानव हित र कल्याणतर्फ उन्मुख गराउने व्यक्ति हुने रहेछन् । सत्य व्यवहार र सच्चरित्रताले नै मानिसको मनलाई बदल्न सकिने रहेछ । यिनै सोच, व्यवहार र चिन्तन भएका व्यक्तित्वका रूपमा मैले पाएको हुँ–गोपालदत्त भट्ट । 

२. सामान्य परिचय 

  प्रेरक व्यक्तित्व गोपालदत्त भट्ट (वि.सं.२००३–२०७७)ले पैत्रिक थलो बैतडीबाट सहज जीवनयापनको खोजीमा धनगढीमा बसाइँ सरी जीवनको आरोह–अवरोह पार गर्नुभएको थियो । लामो समयसम्म नेपाल राष्ट्र बैंकमा जागिरे जीवन बिताउनु भएका भट्टले जागिरको बन्धनलाई तोड्न २०५८ सालबाट स्वेच्छिक अवकाश लिनुभएको थियो । यसपछि पेसाको रूपमा एउटा वस्त्रालय खोल्नुभएको थियो । 

        सरल, मिलनसार स्वभावले नै हो भट्टले आध्यात्मिक बाटो अपनाउनु भएको थियो । अध्यात्म यस्तो पाटो हो जसले अरूको पीडालाई आफ्नै पीडा सम्झन्छ, अर्थात ‘सर्वे भवन्तु सुखीन’को मूल उद्देश्य बनाएको हुन्छ । यसैलाई अड्डिकार गरेर नै होला भट्टले प्रजापिता ईश्वरीय विश्वविद्यालय ब्रह्म कुमारी राजयोग केन्द्र (ओमशान्ति) धनगढीमा संस्थापक बनी धेरैलाई सुशिक्षित गराउनुभएको थियो । 

३. गोपालदत्त भट्टसँग मेरो चिनारी 

  कोही व्यक्तिसँग त्यत्तिकै सरसङ्गत  गर्न निकै गाह्रो हुन्छ । कसै न कसैको माध्यमबाट सम्पर्क गर्न सजिलो हुने रहेछ । मैले गोपालदत्त भट्टसँगको परिचय र सरसङ्गत  गर्नमा उहाँकै सुपुत्र डा.पुष्करराज भट्टद्वारा वि.सं. २०५९ तिर भएको हो । डा.भट्टजीसँग साहित्यिक वातावरणमा हामी रमाउन थालेका हुँदा एकअर्कामा मित्र भएका थियौँ । भेटघाट गर्ने थलोको रूपमा उहाँका पिता गोपालदत्त भट्टले सञ्चालन गरेको एल.एन. चोकमा रहेको शिवशक्ति वस्त्रालय रहेको थियो । त्यही वस्त्रालयमा एक अति सुशील, मृदुभाषी, आध्यात्मिक साधक गोपालको व्यवहारले मलाई पनि सरसङ्गत गर्न कुतकुत्यायो ।  

      म मित्र पुष्करजीलाई भेट्न होस् वा कुनै वस्त्र किन्न होस् म गोपालजीलाई भेट्ने बाहना बनाईहाल्थेँ । केहीबेर मुख्य काम सकेपछि हामी गफगाफ सुरु गथ्र्याैँ । उही आध्यात्मका कुरा । यी कुराकानीमा जसले यो संसारमा जन्मेपछि आफ्नो आत्मा र परमात्माको सम्बन्ध जान्नै पर्ने कुराहरू, परमेश्वरसँगको सम्बन्ध आदि । बुझ्दै जाँदा उहाँ ब्रह्मकुमारी राजयोग केन्द्रसँग आबद्ध हुनुहुँदो रहेछ । उहाँ भन्नुहुन्थ्यो–“मानिसमा आत्मज्ञान भएन भने मनपरि हुन्छ, अनि नकारात्मक सोचतर्फ उन्मुख भएर अपराध गर्न लाग्छ र समाज बिथोलिन्छ ।” म उहाँको विचारमा मोहित भएर सुन्दथेँ र सत्यमार्गमा लाग्न अभिप्रेरित हुन्थेँ । 

        एकदिन फेरि कुराको विषयवस्तु आयो–नैतिक चेतनाको । उहाँले भन्नुभयो– “हेर्नोस् खनालजी ! मानिसमा नैतिक चेतना भन्ने पूरा हरायो । अब केहीवर्ष भित्रै धेरै धनजनको क्षति हुन्छ । सामाजिक मूल्य र मान्यता झन् कता गयो कता । हिंसा बढ्न थालेको छ, यसले परिवार, समाज र देशमा कलह सिर्जना गरेर उपद्रो हुनेछ । छिट्टै पृथ्वीमा तहसनहस पार्दैछ है । हामीले सकेससम्म नैतिक चेतना भर्न सक्नुपर्छ । तपाईं आफ्ना  कविता सिर्जनामा त्यही लेख्नोस् र बच्चाहरूलाई त्यही सिकाउनु होस् ।” म गम्भीर बनेँ । चुपचाप लागेर सुन्नुमात्र भन्दा केही त भन्नैपर्यो  भनेर आफूलाई लागेका कुरा शान्त भएर भनेँ–“एउटा हुटिट्याउँले सगर थाम्दैन हजुर, एक्लो वृहस्पति झुटा भन्छन् । एक्लैले के गर्न सकिएला र !” उहाँले थप्नुभयो–“त्यही एक एक गरेर त सय, हजार, लाख, करोड आदि बन्छ । थोपा–थोपा गरेर गाग्रो भरिन्छ । स–साना खोल्सी खोला नदी गएर त समुद्र महासागर बन्छ । तसर्थ तपाईं हाम्रो प्रयास सद्विचार, सत्मार्ग अहिंसा, सबैमा बन्धुत्वको भाव रहनुपर्छ । सकेसम्म सबैलाई आफ्ना विचारले नैतिकताको मूलधारमा मोड्ने प्रयास गर्नुपर्छ है ।”

      उहाँ यति ठुलो विचार र यति धेरै दृष्टान्तले बुझाएपछि मेरो अन्तरआत्मामा एउटा सानो दियो धिपधिप गरेको जस्तो लाग्यो । उहाँले एक–एकको प्रयास र थोपा–थोपाको मेल भन्ने कुरा नै मेरा लागि एउटा सकारात्मक मार्गदर्शन रहेको थियो । 

        एकदिन फेरि हाम्रो भेटघाट भयो । कुराकानीको सन्दर्भमा उहाँले धर्म दर्शनको बारेमा केही बोल्न चाहनुभयो । उहाँ पनि मप्रति आत्मिकभावले जोडिइसक्नु भएकाले आफ्ना  मनमा लागेका कुरा कतिबेला बताऊँ हुन थालेको मैले अनुभूति पाएका कारण मैले उहाँलाई केही समय त दिनै  पर्यो । मैले सहज रूपमा स्वीकृति जनाएँ । उहाँले भन्नुभयो,– “हेर्नाेस्, है सर ! आत्मा र परमात्माको ज्ञान प्रत्येक मानवले थाहा पाउनुपर्छ । परमात्मा भन्नाले परम पिता शिवलाई बुझ्नु पर्दछ, उनी नै सर्वाेच्च आत्मा हुन्, चार युगमा भिन्न–भिन्न अवस्था रहेको छ । सत्य युग शान्ति हो भने कलियुग पतन र अव्यवस्थाको युग हो । यसबेला आत्म परिवर्तन गरी समाज परिवर्तन गर्न काम, क्रोध, लोभ, मोह, आशक्ति हटाएर शान्ति, प्रेम र पवित्रता जस्ता सदाचार परिपालना गर्दै सकारात्मक सोचले समाज परिवर्तन गर्न आवश्यक छ ।” 

        उहाँका यी वाणीले मेरो अन्तरआत्मामा ईश्वरभक्तिप्रतिको आस्था र अहिंसाप्रति झन् उत्प्रेरणा जगायो । मनमा मेरो केही न केही ईश्वरभक्ति छ छँदै थियो त्यसमा अझै थप ऊर्जा प्रदान गरायो । यस्तै म हिंसा पहिल्यैदेखि मन नपराउने व्यक्ति हुँ । उहाँको यो सतसड्डपछि झन् खिरिलो गरेर भाव उजागर भयो । बालबालिकालाई शिक्षा दिँदा पनि पूर्णरूपले म अहिंसक भएँ । उहाँसँगका सड्डत यस्ता धेरै नभए पनि थोरैले नै मलाई परिवर्तको बाटो  देखायो ।          

४. व्यक्तित्व र विशेषता 

        गोपालदत्त भट्टको सरल, शिष्टबोली, मृदुभाषी उनको पहिलो गुण हो । ईश्वरीय चिन्तन गरेर धेरै ज्ञान बटुलेका गोपालदत्तले जोकोही सजिलै आकर्षित गर्नसक्ने खुबी भएकाले उनको कुरा सुन्न धेरैले चासो राख्दथे । उनका कुरामा सत्यनिष्ठ भएर आफ्नो कर्म गरे भविष्यमा दुःख कष्ट नहुने र सबैको सधैँ प्रिय बन्न सकिन्छ भन्ने थियो । कर्मचारी रहँदा पनि उहाँ सबैसँग अति मिलनसार भएर आफ्नो जिम्मामा रहेका काम समयमै गर्ने बानी थियो भन्ने मैले सुनेको थिएँ । व्यापार गर्दा ग्राहकवर्गमा अति नम्र र सेवक भएर काम गर्ने स्वभाव उहाँको थियो ।  

५. उपसंहार 

  मानिसले आफ्नो जीवनलाई मान्छेको जीवनजस्तो बनाउन चाँहदैनन् तथा मान्छेको जीवन के हो भनेर खोज्न÷बुझ्न चाँहदैनन् । तर यसको ठिक विपरीत हुनुहुन्थ्यो–गोपालदत्त भट्ट । उहाँले आफ्नो मानवीय जीवन बुझेर अरूलाई पनि बुझाउन चाहनुहुन्थ्यो । उपकार गर्ने बानी थियो । मानिसमा नैतिक चेतना भरी आध्यात्मिक सोच बढाउँदै सभ्य समाजको स्थापना गर्न चाहना राख्नुहुन्थ्यो । कति महानता सोच ! कर्मचारी भएका समयमा पनि उदाहरणीय व्यक्ति बन्न पुग्नुभएको थियो । पूर्व कर्मचारी भएर पनि सम्मानित हुनुभएको थियो भने ब्रह्मकुमारी राजयोग केन्द्रबाट पनि सम्मानित हुनुभएको थियो । 

        अन्त्यमा, कोही पनि चाहेर यो संसारमा सधैं बस्न सक्दैन वा पाउँदैन । सबैले एकदिन न एक दिन यो संसारबाट विदा हुनैपर्छ । अझ आध्यात्मबाट हेर्ने हो भने आत्मा गएर आफ्नो ठाउँमा वास लिन्छ । देहको अन्त्य हुन्छ नै । अतः उहाँको आत्मा पनि वि.सं. २०७७ श्रावण ९ गते परमात्मामा लीन हुन पुग्यो । उहाँको ब्रह्मलीनको खबरले धेरैलाई विक्षिप्त बनायो । मलाई पनि सम्झनाले बार–बार सताइरहन्छ । अब उहाँका कीर्तिहरूले मात्र उहाँलाई चिनाउँछ । ब्रह्मलीन गोपालप्रसाद भट्टको आत्माले शान्ति पाओस् !  

दमक १ झापा 

                                                      दूरभाष ः ९८४८४६९६३९ 

             


No comments:

Post a Comment

श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली-मनोहर लामिछाने, वरिष्ठ अधिवक्ता

                              पिता रामचन्द्र भट्ट तथा आमा पद्मदेवी भट्टको कोखबाट विक्रम सम्वत् २००३ वैशाख १४ गते बैतडी जिल्लाको दशरथचन्द नगर...