जीवनमा कैयौं, रुपरंग, स्वभाव भएका मान्छेहरू सँग भेट हुन्छ । त्यसपछि समयसँगै स्मृतिबाट ओझेल हुँदै जान्छन् । जीवनको कुनै मोडमा कसैसँग भेट हुँदा सम्झिने गरिन्छ । आफ्नो आनीबानी र स्वभाव विशेषले गर्दा गर्दा कुनै मान्छे सदा स्मृतिमा रहन्छन् । यसरी स्मृतिमा बाँचिरहनु भएको छ गोपाल दाजु । जागीरे जीवनको अवकाशपछि उहाँले धनगढीको लक्ष्मीनारायण चोकमा कपडा पसल खोलेर व्यवसाय गर्नुभयो । राम्ररी सम्झना छ, पसलको नाम थियो ओम शिवशक्ति ट्रेडर्स । धनगढीको एकदमै बीच भागमा पसल भएकोले सबैको नजर पर्दथ्यो । म पनि धनगढीको बासिन्दा भएकोले त्यो पसलमा कपडा, पूजाको लागि वस्त्र आदि सामान किन्न गइन्थ्यो । गोपाल दाजूको सुस्तरी बोल्ने हँसिलो अनुहार, सफा सेतो पहिरन जस्ता केही विशेषताहरू थिए । उहाँको पहिरन, विनम्रता, आध्यात्मिक चिन्तन आदिले गर्दा ठगिनुपर्ने डर पटक्कै लाग्दैनथ्यो । अरुको हेर्दा भीडभाड पनि बढी नै हुन्थ्यो गोपाल दाजुको पसलमा । पसलमा आएका ग्राहकहरूलाई छेउमा बस्ने व्यवस्था पनि थियो । म सामान किन्न आएको बेला ओम शान्ति ईश्वरीय भक्तिको बारेमा कुराकानी गरिरहनुहुन्थ्यो । शुरुमा मेडम भन्नुहुन्थ्यो पछि बहिनी भनेर सम्बोधन गर्न थाल्नुभयो । धेरै पटक दाजूले मलाई र मित्र श्रेष्ठ प्रिया पत्थरलाई माउन्ट आबु जानको लागि भन्नुभएको थियो । माउन्ट आबु जानलाई पाँच दिनको कोर्स गर्नुपर्ने र प्रमाणपत्र प्राप्त गरेपछि मात्र टीमसँग जान पाउने प्रावधान रहेछ । ८–१० दिनको बसाई, त्यसमा जागीरको कारण हामीले जान सकेनौं । उहाँले पछि सम्म पनि तपाईँहरू माउन्ट आबु एक पटक पुग्नुहोला भनेर भन्नुहुन्थ्यो । हाम्रो आफ्नै व्यस्तताले त्यस्तो महत्वपूर्ण ठाउँमा पुग्न सकेनौं । २०६८ सालतिर उहाँले कपडा पसल पनि बन्द गरेर पूर्ण रूपमा अध्यात्म क्षेत्रमा समर्पित हुनुभयो ।
ओम शान्तिमा २८–३० वर्ष संलग्न रहनु भएपछि प्रजापति ईश्वरीय विश्वविद्यालयबाट पनि भाउजु सहित (सपत्नीक) सम्मानित हुनुभएको पनि जानकारी छ । हाल भाषा आयोगका सदस्य, साहित्यकार भाई डा. पुष्करराज भट्ट सँगको निकट सम्बन्धले गर्दा पनि हामीलाई पारिवारिक कुराहरू बारे जानकारी भइरहन्थ्यो । गोपाल दाजु बिरामी भएर थला परेको, दुःख पाएको केही भएको थिएन । एक दिन अचानक भाइ पुष्करराज भट्टको खबर आयो कि राति बुवालाई अचानक स्टक आयो । बेहोशीको अवस्थामा अस्पताल पुर्यायौं। अहिले सारथीको सघन कक्षमा उपचाररत हुनुहुन्छ । यति सुनेर मित्र प्रिया र म अस्पताल पुग्यौं । दाजूको अवस्था नराम्रो भएका कारण काठमाडौं लग्न पनि नसकिएको रहेछ । अस्पतालमा परिवार, आफन्त, इष्टमित्र र ओम शान्तिबाट आएका मानिसहरूको ठूलो भीड थियो । जो जति आएपनि, जति प्रयास गरेपनि समय आएपछि कसैको केही लाग्दो रहेनछ । सघन कक्षको झ्याल अलि खोल्न लगाएर बाहिरैबाट हामीले अनुहार सम्म हेर्यौं । २०७७ साउन ८ गते सारथी अस्पतालमा गोपाल दाजू ब्रम्हलीन हुनुभयो । आफ्ना सन्तानले गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरिरहेका छन् छोराछोरीहरूले । भाई डा. पुष्करराज भट्टले आफ्ना बाबुआमाको नाममा पुरस्कारको स्थापना गर्नुभएको छ । उहाँले बुवाको स्मृतिमा ग्रन्थ पनि प्रकाशनको क्रममा रहेको छ । मलाई पनि संझनाका केही शब्द लेख्ने मौका दिनुभएकोमा हार्दिक आभारी छु । दाजूको बैकुण्ठ वास होस् ।
धनगढी, कैलाली
No comments:
Post a Comment