स्वर्गीय श्री गोपालदत्त भट्टज्यूको बारेमा लेख्नुपर्दा प्रिय भाइ साहित्यकार डाक्टर पुष्कराज भट्टसँग जोडिनै पर्छ । २०५५ सालतिर होला, सुदूरपश्चिमाञ्चल साहित्य समाज र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बाल साहित्य कार्यक्रम धनगढीमा राखिएको थियो, त्यो कार्यक्रममा सहभागी हुन म पनि पुगेको थिएँ । त्यसै कार्यक्रममा पहिलोपटक पुष्कर भाइसँग मेरो परिचय भएको थियो । उनी त्यतिखेर कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै थिए र साहित्य लेखनको कार्यमा सक्रिय थिए । उनले त्यतिखेर पनि बनेपा काभ्रेबाट प्रकाशित हुने आदरणीय मोहन दुवालज्यूको मासिक पत्रिका जनमतको लागि सहयोग गर्ने काम गरिरहेका थिए । त्यसपछि धनगढी बस्ने क्रममा उनीसँग मेरो साहित्यिक अपनत्व बढ्दै गयो । उनको साहित्यप्रतिको समर्पण र लेखन मेरो लागि उनीसँगको प्रगाढताको सहयोगी हुन पुग्यो । धनगढीमा हुने प्रत्येक साहित्यिक कार्यक्रममा उनको सहभागिताका कारण भेटघाट पनि बढ्दै गयो । त्यसै क्रममा थाहा भयो, उनको पिता गोपालदत्त भट्टज्यूले धनगढीको एल. एन .चोकमा कपडाको पसल सञ्चालन गर्नुभएको रहेछ र पुष्करजी फुर्सदको समयमा पसलमा बसी पिताजीलाई सघाउनु हुँदोरहेछ । पुष्करजीसँग भेटघाट गर्न पसल पुग्दा उहाँको पिताजीलाई फित्ताले कपडा नाप्दै ग्राहकसँग बातचीत गरिरहेको देख्ने गर्थें । उहाँसँग कुराकानी गर्दा उहाँ अत्यन्तै हार्दिकतापूर्वक कुरा गर्नुहुन्थ्यो । सायद म बैंककै कर्मचारी भएको र उहाँ पनि राष्ट्र बैंकबाट अवकाश लिएको कर्मचारी हुनुको कारणले पनि हुनसक्छ, उहाँको र मेरो कुरा मिल्ने गर्थ्यो ।
उहाँ अत्यन्त शान्त स्वभावको हुनुहुन्थ्यो । उहाँ ओम शान्ति समाजको सदस्य भएको हुनाले पनि उहाँको शान्त स्वभाव मलाई स्वाभाविक लाग्ने गथ्र्यो । उहाँ प्रायः आफ्नो परिवारको, छोराछोरीको, समाजको, देशकाल परिस्थितिको बारेमा चर्चा गर्नुहुन्थ्यो । उहाँ आफ्नो पहिरनमा प्रायः सेतो कुर्ता र सेतो पाइजामामा देखिनुहुन्थ्यो । उहाँ अलि छोटो कद, फुर्तिलो शरीर, सामान्य जीवन कुनै देखावटीपन नभएको तर व्यवहारमा अग्लो स्वभावका हुनुहुन्थ्यो । उहाँले आफ्नो जेष्ठ पुत्र पुष्करराज भट्ट र कान्छो छोरा हेमराज भट्टको शुभ विवाहमा पनि मलाई निमन्त्रण गर्नुभएको थियो र परिवारको सदस्य सरह उहाँको घरमा मैले स्नेह र सम्मान पाएकी थिएँ । उहाँ मलाई बहिनी भनेर सम्बोधन गर्नुहुन्थ्यो ।
पुष्कर भाईसित साहित्यिक एवं आत्मीय सम्बन्धको कारणले पनि हुनसक्छ, उहाँ मलाई आफ्नै बहिनी सरह मान्नुहुन्थ्यो । प्रजापिता ईश्वरीय विश्वविद्यालय(ओम शान्ति) परिवारको सदस्य भई उहाँ कैयौँ पटक मित्र राष्ट्र भारतमा हुने कार्यक्रममा सहभागी हुन उहाँ धनगढीको समूहसित जानुहुन्थ्यो र मलाई पनि एकपटक त्यहाँ पुर्याउने उहाँको धोको थियो । हुन्छ, दाजुसित एकपटक जाउँला भन्ने मैले वचन दिएको थिएँ तर त्यो पूरा हुन सकेन । विक्रम सम्वत २००३ साल वैशाख १४ गते बैतडी जिल्लाको दशरथ चन्द ५ कुमालीमा जन्मनुभई भारतको पिथौरागढबाट एसएलसी गरी पहिले राष्ट्रिय वाणिज्य बैंकमा र पछि नेपाल राष्ट्र बैंकमा ३५ वर्षसम्म सेवा गरी सहलेखा अधिकृत पदबाट २०५८ सालमा शैक्षिक अवकाश लिनुभएका भट्टजी २०३२ सालपछि धनगढीमा बसोबास गर्दै आउनुभएको थियो । जागीरबाट अवकाश पछिको समय उहाँले कपडा व्यापार तथा आध्यात्मिक चिन्तनमा बिताउनुभयो । २०५८ सालपछि २०६८ सालसम्म उहाँले धनगढीको एल एल एन चौकमा कपडा पसल राखी व्यापार गर्नुभयो । प्रजापिता ईश्वरीय विश्वविद्यालय कैलालीको संस्थापक भई समाजमा शान्ति, सुव्यवस्था, ईश्वरीय चिन्तनमा संलग्न रही सेवा गर्नुभयो । पछिल्ला दिनमा उहाँले आफ्नो अस्वस्थ्यताको कारण कपडा पसल बेचिदिनुभयो र ईश्वरीय चिन्तनमा एक मन र ध्यानले संलग्न हुनुभयो । म प्रायः उहाँलाई बजारमा हिँड्दै गरेको देख्थे कुशलक्षेम सोध्थें । उहाँ पनि मलाई सोध्नुहुन्थ्यो । उहाँको भित्रभित्रै स्वास्थ्य बिग्रिदै गएको कुरा भने मलाई भन्नुभएको थिएन । एक्कासी २०७७ साल श्रावण ७ गते पुष्करराज भट्ट भाइको बुवा सिकिस्त हुनुहुन्छ र सारथी अस्पतालमा भर्ना हुनुभएको छ भन्ने फोन आयो । म र साथी हेमन्ती जोशी हतारहतार गरेर सारथी अस्पतालमा पुग्यौँ । उहाँलाई इमर्जेन्सीमा राखिएको थियो । उहाँ बेहोस हुनुहुन्थ्यो, हामीले उहाँसँग कुनै वार्ता गर्न सकेनौँ । भाइ पुष्कराज भट्टलाई जे परे पनि छोरा मान्छेले सहनुपर्छ भन्ने सान्त्वना र ढाढस दिएर फर्क्यौं । योभन्दा बढी हामीले गर्न सक्ने कुरा केही थिएन । ईश्वरको इच्छाको अगाडि हार मान्नैपर्छ । भोलिपल्ट पुष्कर भाइबाट नै थाहा पायौं, उहाँले श्रावण ८ गते यस संसारबाट बिदा लिनुभएछ । संसारमा मान्छे जन्मन्छन् र जन्मेपछि एकदिन यस संसारलाई छोडेर सबैले जानु नै पर्छ । यो साश्वत सत्य हो । गोपालदत्त भट्ट साहित्यकार डाक्टर पुष्करराज भट्टको पिता मात्र हुनुहुन्थेन, बरु एउटा असल व्यक्तित्वको, निष्कलंक छविको मान्छे हुनुहुन्थ्यो । ज्ञानगुणको कुरा बाँड्नुहुन्थ्यो र समाज सदैव शान्त समृद्ध र संस्कारी होस् भन्ने चाहनुहुन्थ्यो । समाजमा बस्ने प्रत्येक मान्छे असल चरित्रको भएपछि मात्र समाज बन्छ । समाज राम्रो बने देश पनि राम्रो हुन्छ भन्ने उहाँको चिन्तन अत्यन्त अनुकरणीय रहेको मैले पाएको छु । आज उहाँको स्मृतिमा पुष्करराज भट्टले स्मृति ग्रन्थ प्रकाशित गर्न लागेको कुराले मलाई हर्षित तुल्याएको छ । एक पुत्रले आफ्नो पिताद्वारा परिवारको संरक्षणको लागि गरेको सङ्घर्ष, समर्पण र सामाजिक कार्यलाई उजागर गर्ने उद्देश्यले प्रकाशित गर्न लाग्नुभएको यस स्मृति ग्रन्थले पुत्रको धर्म कर्तव्यलाई मैले सत्कर्मको रुपमा लिएको छु । अन्त्यमा दिवंगत हुनुभएका दाजु गोपालदत्त भट्टको आत्माको चिर शान्तिको कामनाका साथै उहाँको परिवारको सुखसमृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
No comments:
Post a Comment